बैतडीका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

  ०७४ असोज २९ गते

विभिन्न स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जनाइएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि अधिकांश स्थानीय तहले समयमै औषधि खरिद नगर्दा अभाव भएको हो । औषधि खरिदका लागि स्थानीय तहमा पठाएको रकमसमेत प्रयाप्त छैन ।

पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाले थोरै मात्र औषधि खरिद गरेको छ भने अन्य गाउँपालिकाले अहिलेसम्म औषधि नै खरिद गरेका छैनन् ।

खरिद गरेको औषधि पनि एक/डेढ महिनालाई मात्र पुग्ने पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक बिनोद कुँवरले बताए । 'अहिले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव छ ।'-उनले भने-'४ लाख रुपियाँको औषधि किनेर वितरण गर्ने तयारी गरेका छौँ । तर, त्यो औषधि एक/डेढ महिनामै सकिन्छ ।'

विशालपुर स्वास्थ्य संस्थामा सिटामोललगायतका अन्य औषधि अभाव भएपछि स्वास्थ्यचौकीको आन्तरिक स्रोतबाट थोरै औषधि खरिद गरेको स्वास्थ्यचौकी प्रमुख करनसिंह ठगुन्नाले बताए ।

नगरपालिकाले छुट्टाएको रकम थोरै भएकाले आगामी दिनमा औषधि अभाव अझै बढ्न सक्ने उनले बताए । यस्तै सिगास गाउँपालिकाका सबैजसो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक महेश भट्टले बताए । उनले भने-'औषधि खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौँ । तर, थोरै रकम भएकाले औषधि पर्याप्त मात्रामा पूर्ति गर्न सकिने अवस्था छैन ।'

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले औषधि खरिद गर्न बाँकी छ । यी स्थानीय तहले औषधि खरिदका लागि बल्ल प्रक्रिया सुरू गरेका छन् । औषधि खरिद गरेका स्थानीय तहमध्ये पुरचौडी, मेलौली र पञ्चेश्वरले वितरण गर्न बाँकी छ ।

औषधि खरिद गर्न रकम अपुग भएको र कर्मचारीसमेत नहुँदा प्रक्रिया ढिलो भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तर्कराज भट्टले बताए । औषधि खरिदका लागि २ लाख ८० हजार रुपियाँ मात्रै बजेट छ । '६ ओटा स्वास्थ्य संस्थामा एक महिनाका लागि पनि औषधि पुग्दैन ।'-उनले भने ।

सरकारले स्वास्थ्यचौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा अभाव छ । सरकारले स्थानीय तहमै औषधि खरिद गर्न रकम पठाएको भए पनि निकै थोरै रकम भएकाले खरिद गरिने औषधि एक महिनाभन्दा बढी नपुग्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए ।

'सरकारले स्थानीय तहमा औषधि खरिदका लागि पठाएको रकमले नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका लागि एक महिना पनि धान्दैन ।'-उनले भने-'पछि के गर्ने भन्ने अन्योलमा छौँ । अहिले पनि सबै स्वास्थ्य संस्थामा औषधि अभाव छ ।'

स्थानीय तहमा कर्मचारी अभाव छ । कर्मचारीको अभावले स्थानीय तह अस्तव्यवस्त अवस्थामा छ । जनप्रतिनिधिहरू भर्खरै चुनिएर आएकाले जानकारीको अभाव र भौतिक पूर्वाधार अभावमा स्थानीय तहका प्रतिनिधि अन्योलमा छन् । स्थानीय तहले समयमै औषधि खरिद गरेर स्वास्थ्य संस्थालाई वितरण गर्नुपर्ने जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए ।


नरी बडु