बैतडीका दुई ओटा मतदानस्थल अति संवेदनशील

  ०७६ कात्तिक २८ गते

जिल्ला सुरक्षा समितिले जिल्लाको पुर्चौडी नगरपालिका–४ का महादेव मावि, शिवाओ र पहरौल मावि, बाग मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा विभाजन गरेको छ ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पुर्चौडी नगरपालिकाका विभिन्न ठाउँमा निर्वाचनलाई लक्षित गर्दै बम विस्फोट भएका कारण अति संवेदनशील भनी विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेको भनाइ छ ।

उनले भने–‘त्यसैले यी क्षेत्रका मतदानस्थलहरूलाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो ।’

दोगडाकेदार गाउँपालिका–४ स्थित केदार मावि भवन र हुनैनाथ आधारभुत विद्यालय कपिन्नाको मतदानस्थललाई पनि संवेदनशील मतदानस्थलका रूपमा घोषणा गरिएको छ ।

यी मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताए ।
सुर्नयाँ गाउँपालिका–२ का मतदानस्थहरू भने सामान्य रहेको पाण्डेले बताए ।

पुर्चौडी नगरपालिका–४, दोगडाकेदार गाउँपालिका–४ र सुर्नयाँ गाउँपालिका–२ मा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ ।


नरी बडु