बेस्तडाका स्थानीयले सीडीओलाई भने-'सिटामोल पाउनु पर्‍यो हजुर !'

  ०७३ कात्तिक २१ गते

दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लुकबहादुर क्षेत्रीलाई बेस्तडाका स्थानीयले बिरामी पर्दा सिटामोल खान पाउनु पर्ने माग राखेका छन् ।

इलाका नं. ४ को मुख्य मुकाम बेस्तडाको विकास तथा सुरक्षा अवस्था बुझन पुगेका प्रमुख जिल्ला अधिकारी क्षेत्रीसँगको अन्तरक्रियामा रुम गाविस-१ का नन्दबहादुर विकले इलाकाको मुकाममा सरकारी स्वास्थ्य निकाय नहुँदा समस्या परेको गुनासो गरे ।

कट्टी गाविस-६ का गणेश शर्माले जनघनत्व अनुसार स्वास्थ्य सेवा केन्द्र आवश्यक भएको बताउँदै पटकपटक इलाका परिषद्बाट समेत माग गरी पठाएकोमा जिल्लाबाट बेवास्ता गरेको दुखेसो पोखे । उनले भने-'बाँच्नको लागि सामान्य उपचार पाउने स्वास्थ्य संस्था छिट्टै चाहिन्छ ।'

स्थानीयको समस्या सुनेपछि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले समस्या समाधानका लागि पहल गर्ने बताए ।


अमर सुनार