बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित

  ०७५ चैत २० गते

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी एक महिलाको परिवार फेला नपर्दा र राज्यको आँखा नपुग्दा उपचार र स्याहारको अभावमा एक महिना १२ दिनदेखि मृत्युसँग जुधिरहेकी गरिरहेकी छिन् ।

हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी फागुन ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते बिरामीको सनाखत हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको बताउँदै डिएसपी भावेश रिमालले भने–‘हात्तीको आक्रमणले घाइते भएकाले उपचारको जिम्मा वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षले लिनुपर्छ ।’

वन ऐन ०७१ को “ख” तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको ३ “घ” मा समेत राष्ट्रिय निकुञ्ज तथा आरक्ष भन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षति बापत तोकिए बमोजिम राहत दिइनेछ ।–भनी उल्लेख छ । तर, वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनभिज्ञ छन् ।

आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएकोमा आश्चर्य प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले परिवारको खोजी गरी पुनर्स्थापनाको प्रयास गरिने र आफन्तहरु पत्ता नलागे अन्य विकल्प खोजिने बताए ।

सुरूमा सञ्चो भएर घर फर्किसकेको जनाएको डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्रप्रसाद सिंहलाई सञ्चो नभएको र घरपरिवार कोही सम्पर्कमा नआएकाले हालसम्म पनि बेवारिसे अवस्थामा अस्पतालमै रहेको बताएपछि उनले आफ्नो कुरालाई ढाकछोप गर्दै भने–‘बिरामी करिब ठिक भइसकेको थियो । वन कार्यालयले पुरै निगरानी गर्न सक्दैन । कुरुवा पनि राख्न सक्दैन तर औषधिउपचारको खर्च समयमै उपलब्ध गराउँछ ।’

अस्पताल आकस्मिक विभागका इञ्चार्ज धनेश्वर साहले घाइते बेवारिसे महिलालाई प्रहरीले अस्पतालमा ल्याएर छाडेपछि कोही फर्केर नआएको र कसैले एक रुपियाँ पनि सहयोग नगरेको बताए ।

बिरामीको प्राथमिक उपचार गरिए पनि भाँचिएको हात जोड्न लगाउनु पर्ने स्टिलको खर्च कतैबाट उपलब्ध नभएको उनले बताए । स्टाफ नर्स कविता देवले थप उपचार, सरसफाई र खानाको कमीले गर्दा बिरामी कमजोर बन्दै गएको बताइन् ।

दाहिने हात भाँचिएकी छाती, तिघ्रामा चोट लागेकी उनी न केही बताउन सक्छिन्, न हिँडडुल गर्न नै सक्छिन् ।

उनलाई हेर्न आउनेहरूले दया गरी दिएको बिस्कुट, फलफूल पाए खान्छिन् नभए भोकै, प्यासै सुत्छिन् । दिशापिसाव आएको पनि चाल नपाउने उनको गोडामा उनकै दिशा कटकटिएर सुकेको छ ।

कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपिदिन केहीले माथिबाट तन्नाले ढाकिदिन्छन् । उनको ओछ्याउन शौचालयको छेउमा चिसो भुँइमा लगाइएको छ ।

बेवारिसे बिरामीको घरठेगाना पत्ता लगाउन प्रहरीले ध्यान नदिने गरेको गुनासो गर्दै ओसिएमसीकी फोकल पर्सन स्टाफ नर्स मनिषा सिम्खडाले स्थानीय निकायले अभिभावकत्वको जिम्मेवारी नलिँदा पुनस्र्थापना केन्द्र पठाउन पनि नसकिएको बताइन् ।

संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक, धारा ३६ ले खाद्यसम्बन्धी हक र धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेपनि आर्थिक रूपले विपन्न, अशक्त, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अपाङ्गता भएकी असहाय महिलाले कानुन बमोजिम कुनै पनि अधिकार उपभोग गर्न पाएकी छैनन् । सम्बन्धित निकाय, स्थानीय प्रतिनिधि, प्रशासन र राज्य समेत बेखबर छन् ।


मनोहरकुमार पोखरेल