बेपत्ता महिला मृत अवस्थामा फेला

  ०७६ भदौ ३० गते

भदौ २० गते घरबाटै बेपत्ता भएकी दशरथचन्द नगरपालिका-२ देहीमाण्डौकी ४५ वर्षीया रत्नादेवी बोहरा भदौ २८ गते मृत अवस्थामा फेला परेकी छिन् ।

बोहराको शव पाटन नगरपालिका-१ गरालेकस्थित सुर्नयाँ नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर किसनबहादुर चन्दले बताए । चन्दका अनुसार बोहराको शव सडेको अवस्थामा फेला परेको हो ।

दशरथचन्द नगरपालिका-२ देहिमाडौँका नैनसिंह बोहराकी पत्नी रत्नादेवीको मृत्यु भएको घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको चन्दको भनाई छ ।

मृतकका पतिले भदौ २० गते नै पत्नी हराएको भन्दै देहिमाडौँ प्रहरी चौकीमा निवेदन दिएका थिए । भदौ २८ गते स्थानीयले सुर्नयाँगाड नदीमा तैरिरहेको अवस्थामा शव फेला पारेपछि प्रहरीले अपरान्ह नदीबाट शव निकालेको थियो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल बैतडीमा गरिएको छ । प्रहरीका अनुसार महिलाको मृत्यु कसरी भयो भन्ने बारे अहिले केही खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक महिलाका तीन छोरी र एक छोरा छन् ।


नरी बडु