बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न आग्रह

  ०७७ कात्तिक २१ गते

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द पीडित र सरोकारवालासँग शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

अयोगले कात्तिक २० गते गुलरियामा गरेको छलफलमा  आयोगका सदस्य डाक्टर गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिका पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्बोधनका लागि निरन्तर काम गरिरहेको बताउनु भयो । अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानिय तह र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो ।

डा. अधिकारीले आयोगमा देश भरीबाट ३ हजार २ सय २३ उजुरी परेकोमा बर्दिया जिल्लाबाट २ सय ८८ उजुरी परेको जानकारी दिदँै त्यस मध्ये २ सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अगाडि बढीसकेको बताउनु भयो । अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाहरूको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त उहाँले  बताउनु भयो । अधिकारीका अनुसार बाँकी रहेका उजुरीको अनुसन्धान सकेर मङ्सिर महिनाबाटै परिचय पत्र बितरण सुरूवाट गरिने छ ।

photo2020100601bardiya

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा शसस्त्र द्वन्दको क्रममा भएका सबै प्रकृतिका घटनाको बारेमा कार्य सम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा  समस्या रहेको बताउनु भयो । पीडितको न्यायलाई मुल आधार बनाएर काम गर्नु पर्ने कुरामा जोड दिदैँ जिल्ला प्रशासन कार्यालय बर्दिया र सुरक्षा निकायबाट अनुसन्धानमा पूर्ण सहयोग रहने बताउनु भयो ।

द्वन्द्व पीडित समितिका अध्यक्ष भागिराम चौधरीले आफ्नो मान्छेको सत्य तथ्य थाहा पाउनुको साथै न्याय र परिपुरण चाँडै पाउन विगत देखि नै सहयोग गर्दै आएको र सधै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले आयोगले साँच्चिकै पीडितको पक्षका काम गर्ने हो भने कानुनी रुपमा स्वतन्त्र  काम गर्ने र सिरफारिस गर्ने अधिकार लिएर आउन पर्ने बताउनु भयो ।

शसस्त्र द्वन्द्वको क्रममा पति बेपत्ता पारिएकी बारर्दिया नगरपालिका– १ की ४५ वर्षीया देविसरा वलीले सरकारबाट स्रोत साधन नपाएर काम गर्न पीडितहरूसम्म पुग्न नसकेको कुरा लिएर पीडितलाई झुक्याउन आयोगले नपाउने र साँच्चिकै पीडितहरूसँग घटनाको बारेमा अनुसन्धानका लागि आउने हो भने आफुहरूले खान बस्न ब्यवस्था गर्न तयार रहेको बताउदै  तत्काल गाउँमा आएर काम सुरू गर्नुपर्ने बताउनु भयो ।

बाँसगढी नगरपलिकाका मेयर शालिकराम अधिकारीले पीडितको पहिचान हुन नसक्दा नै स्थानिय तहले उनीहरूको समस्यालाई सम्बोधन गर्न कार्यक्रम बनाउन नसकिरहेको बताउँदै आफुहरुले पहिचानका लागि गरेको सहयोग आयोगलाई कानुनी रुपमा स्वीकार्य हुन्छ भने नितिगत रुपमा निर्णय गरेर तत्काल आउन आयोगलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा राजनितिक दल र अन्य सरोकारवालाहरूले पनि आफ्नो तहबाट बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न सधै तयार रहेको बताएका थिए ।


मानबहादुर चौधरी