बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

  ०७६ भदौ १३ गते

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।

व्यक्ति बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), न्यायका लागि द्वन्द्व पीडित समाज, रेडक्रसलगायतका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा भदौ १२ गते आयोजित पीडितको अवस्था, न्याय प्राप्तीको चुनौती र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा द्वन्द्व पीडितहरूले उक्त माग गरेका हुन ।

Photo20190830Banke (3)

कार्यक्रममा प्रदेश ५ का सांसद कृष्णा केसी नमुनाले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाउनको लागि आफूले सरकारसामु पहल गर्ने बताइन् ।

उनले द्वन्द्व पीडितहरूले पाउनुपर्ने सम्पुर्ण सेवा सुविधामा सरकारले ध्यान दिनुपर्ने बताइन् । कतिपय द्वन्द्व पीडितहरूले तीन ओटै तहको सरकारबाट पाउनुपर्ने सेवा सुविधाको बारेमा जानकारी नहुँदा पनि अलमलमा परेको अवस्था रहेको उनको बुझाइ रहेको छ ।

केसीले अबको दिनमा व्यक्ति बेपत्ता पारियो भन्नै नपर्ने गरी सरकारले सत्य तथ्य कुराको खोजी गरि सार्वजनिक गर्न समेत सरकारलाई आग्रह गरिन् ।

Photo20190830Banke (2)

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपिँया दिने निर्णय गरेकोले उक्त रकम आफूले वितरण गर्दै आएको बताए ।

कतिपय पीडितहरू सम्पर्कमा नआएकोले रकम प्रत्येक वर्ष फिर्ता हुने गरेको समेत उनले बताए  । सिडियो द्वन्द्वकालका घाइतेलाई उपचार गरिदिने विषयमा परेका निवेदनको सिफारिस प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको बताए ।

द्वन्द्व पीडित तथा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा समर्थन गर्दै आफूले अन्तिमसम्म पनि पीडितको न्यायका लागि आवाज उठाउने बताइन् । उनले द्वन्द्व पीडितहरूलाई आफ्नो पीडा तथा समस्याहरू स्थानीय तहमा गएर राख्न आग्रह गरिन् ।

Photo20190830Banke (1)

द्वन्द्व पीडित साझा चौतारीका केन्द्रीय अध्यक्ष भागिराम चौधरीले नेपालमा फेरि द्वन्द्व नहोस र पहिले जसरी बेपत्ता पार्ने काम नहोस् भन्ने कामना गरे ।

बेपत्ता दिवसमा जोडिएका प्रश्नहरू जे जति छन् त्यसको जबाफ राज्यबाट पाउनुपर्नेमा राज्य मुकदर्शक भएको आरोप लगाए ।

कोहलपुर नपा-११ की ६० वर्षीया बेपत्ता परिवारकी सदस्य भुमादेवी ओलीले छोराको अवस्था सार्वजनिक गर्नको लागि सरोकारवालाहरूसँग माग राखिन् ।

उनले ०५८ सालमा बेपत्ता पारिएको छोरा कस्तो अवस्थामा रहेको छ सत्यतथ्य छिटो भन्दा छिटो बाहिर ल्याउन आग्रह गरिन् । कार्यक्रममा उपस्थित पीडितहरूको एउटै गुनासो छ-'बेपत्ता पारिएकाहरूको अवस्था राज्यले चाँडो सार्वजनिक गरोस् ।'

कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई सत्य तथ्य के हो ? जबाफ दिनुपर्ने बताए ।

न्यायका लागि द्वन्द्व पीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ताको अवस्था चाँडो भन्दा चाँडो पत्ता लगाउनु पर्ने बताइन् ।

यसैगरी बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा रक्तदान समेत गरिएको थियो । रक्तदान कार्यक्रममा विभिन्न सङ्घ संस्थामा कार्यरत व्यक्तिहरू तथा विद्यार्थीहरू गरी २१ जनाले रक्तदान गरेको रेडक्रस बाँकेका गुञ्जन कनोडियाले बताइन् ।


स्मृति देवकोटा