बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सहयोगको आग्रह

  ०७६ पुस २९ गते

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ जनाको हालसम्म पनि अवस्था पत्ता लाग्न नसकेको बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

जिल्ला रेडक्रस सोसाईटी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पुस २९ गते आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएको दुई दशक भन्दा धेरै भइसक्दा पनि उनीहरुको अवस्था पत्ता लाग्न नसकेको आयोगले जनाएको छ ।

२०५२ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना व्यक्तिहरु बेपत्ता परिएको अभिलेख आयोगमा रहेको आयोगका सह–सचिव इश्वरी प्रसाद ढकालले बताउनुभयो ।

जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरेको आयोगले सो क्रममा १४ जना साविक नवलपरासी जिल्लाबाटै, तीन जना काठमाण्डौंबाट, दुई जना तनहुँबाट, एक जना चितवन, एक जना अर्घखाँचीबाट बेपत्ता पारिएको तथ्याङ्क आयोगमा रहेको ढकालले बताउनुभयो ।

आयोगको तथ्याङ्क अनुसार बेपत्ता पारिएकाहरुमा बुलिङटारका शंकर पुरी, प्रगतिनगरका टिका रानाभाट, कावासोतीका धर्मराज पराजुली, प्रगतिनगरका जानकी रानाभाट, दुम्किबासका जिबहादुर बि.क., दुम्किबासका गंगा के.सी.., गिरुवारीका राजकुमार सुनवार, कावासोतीका होमनाथ भण्डारी, गैंडाकोटका विश्वराज बराल, कावासोतीका बिरेन्द्र के.सीं, कोल्हुवाका रुपनारायण चौधरी (थारु), गैंडाकोटका कृष्ण रिमाल, गैंडाकोटका भीमप्रसाद भट्टचन, अमांंपुरीका बलबहादुर खत्री, देउरालीका मनबहादुर परियार, गैंडाकोटका पदमबहादुर दमाई, प्रगतिनगरका हिमलाल काप्ले, कोटथरका इन्द्रबहादुर श्रेष्ठ, गैंडाकोटका परिक्षीत रेग्मी, देवचुलीका कृष्णप्रसाद श्रेष्ठ र देवचुलीका तोयानाथ न्यौपाने रहेका छन् ।

बेपत्ता परिएको मध्ये गैंडाकोटका भीमप्रसाद भट्टचनको परिवार तथा उजुरीकर्तासँंग सम्पर्क कायम हुन नसकेको आयोगका सह–सचिव ईश्वरीप्रसाद ढकालले बताउनुभयो । भट्टचनको परिवार तथा उजुरीकर्तासंग सम्पर्क गराउन स्थानीय तह, जिल्लाका सरोकारवालाहरुले पहल गर्न समेत ढकाले आग्रह गुर्न भयो ।

आयोग पदाधिकार विहिन रहेको अवस्था पनि आयोगले पीडित पक्षसँग सम्पर्क तथा समन्वय र सरोकारवालाहरुको अन्तरक्रियाको क्रमलाई निरन्तर सञ्चालन गरिरहेको ढकालले बताउनुभयो ।

जिल्लामा १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक वेपत्ता पारिएका थप व्यक्तिहरुको सम्बन्धमा केही भए आयोगमा उजुरी दर्ता गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा रहेको स्थानीय सरकार र सो क्षेत्रका सरोकारवालाहरुसँग सो सम्बन्धी थप जानकारी आउन सक्ने भन्दै त्यस्ता विषयहरु आयोगमा जानकारी गराइ दिन ढकालले आग्रह गर्नुभयो ।

उहाँले सरकारले वेपत्ता परिवारको लागि वितरण गरेको राहत विवरण र तथ्याङ्क, अन्य सरोकारवालाहरु संँग भएको तथ्याङ्क र आयोगको तथ्याङ्कमा केही फरक रहेको भन्दै त्यस सम्बन्धमा पदाधिकारी नियुक्तिपछि थप अनुसन्धानको काम हुने बताउनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालले जिल्लाका १३ जना बेपत्ता पारिएकाको परिवारलाई राहत रकम वितरण भएको विवरण जिल्लामा भएको जानकारी दिनु भएको थियो ।सो मध्ये एक जना परिवारको सम्पर्कमा आएको र एक जनाको नाम आयोगको तथ्याङ्कमा छुटेको जानकारी दिनु भयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले आयोगको सक्रियता र आयोगले गर्ने सहयोगले नै आयोगको सान्र्दभिकता पुष्टि गर्ने र पीडितलाई समेत सहयोग हुने हुदाँ सबै पक्षहरुले बेपत्ता परिएका व्यक्तिहरुको विवरण संकलन र त्यस सम्बन्धित थप जानकारीहरु संकलनमा सहभागि हुन आवश्यक रहेको बताउनुभयो ।

नवलपुर जिल्ला बार एसोसियशनका अध्यक्ष गणेशप्रसाद सापकोटाले बेपत्ता पारिएको व्यक्तिको परिवारलाई आवश्यक कानुनी सहयोगको लागि बार सदैव तयार रहने बताउनुभयो ।

उहाँले उनिहरुको एकिन तथ्याङ्कहरु हराउदै गएको भन्दै बास्तविक पीडित न्यायिक प्रक्रियाबाट छुट्न नहुँने बताउनु भयो ।
जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता सिताराम अर्यालले नयाँ जिल्लाको रुपमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थापना भएपछि कुनैपनि द्वन्द्वकालिन बेपत्ता व्यक्तिहरुको सम्बन्धमा मुद्दागत रुपमा अभियोजन नभएको बताउनुभयो ।

इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा उनीहरुसँग सम्बन्धित तथ्याङ्क र थप विवरणहरुको संकलन तथा त्यसको जानकारीको लागि आवश्यक सहयोगको गर्न इन्सेक सदैव तयार रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उपाध्यक्ष श्रीराम सिग्देलले द्वन्द्वकालिन समयमा भएका घटनाहरुको अभिलेखिकरणको लागि तत्कालिन समयमा प्रकाशित पत्रपत्रिकाहरु महत्वपूर्ण प्रमाणको रुपमा रहने भन्दै त्यसबाट समेत थप जानकारी हासिल हुन सक्ने बताउनुभयो ।


तिर्थराज डुम्रे