बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २० गते

२४ वर्षीया युवतीलाई बेचबिखन प्रयास घटनाका आरोपित कनकासुन्दरी गाउँपालिका–६ जुम्लाका ३५ वर्षीय हरिमान कामीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

युवतीलाई विवाह गर्ने आश्वासन दिइ, ललाइ फकाइ घरबाट भगाएर नेपालगञ्ज लैजाने क्रममा जुफाल विमानस्थलबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

घटनाबारे पीडितका बुबाले भन्नुभयो–‘आरोपितले आफ्नो थर रोकाय र आफू अहेव हुँ भन्दै महिनामा ३५ हजार तलव हुन्छ भनेको र विमानस्थलमा प्रहरीले नागरिकता जाँच गर्दा छोरीले आफू ठगिएको थाहा पाएर नजाने भनेपछि विवाद हुँदा प्रहरीले छोरीसहित नियन्त्रणमा लिएछ ।’

आरोपितलाई सार्वजनिक अपराध ऐन अन्तर्गत प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको र पीडित युवतीलाई परिवारको जिम्मा लगाइएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।


विष्णुप्रसाद देवकोटा