बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडित तीन बालिकाको उद्धार

  ०७५ असोज १९ गते

घुमाउन लाने र विवाह गर्ने भन्दै कालीकोट जिल्लाबाट ल्याइएका तीन बालिकामध्ये १४ र १५ वर्षीया दुई जनालाई नेपाल प्रहरीले नेपाल–भारत पूर्वी सीमा नाका पशुपतिनगरबाट उद्धार गरेको जनाएको छ ।

१६ वर्षीया एक बालिकाको भने भारतको दार्जिलिङबाट एक बच्चासहित असोज १८ गते प्रहरीले उद्घार गरेको छ ।

असोज १६ गते पशुपतिनगर ल्याइ पु¥याइएका दुई बालिकाको असोज १७ गते र दार्जिलिङ पु¥याएकी चार महिनाको शिशुकी आमा समेत रहेकी अर्की बालिकाको असोज १८ गते उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओलीले बताए ।

तीनै जना बालिकालाई घुमाउने र विवाह गर्ने बहाना गर्दै ल्याएको आरोपमा कालिकोट सन्नी त्रिवेणी गाउँपालिका–९ का ३० वर्षीय लोकेश भनिने लोकेन्द्र तिरूवा, सोही ठाउँका लक्ष्मण भनिने २४ वर्षीय लङ्क तिरूवा र सोही ठाउँका प्रकाश भनिने २९ वर्षीय जनक तिरूवालाई गिरफ्तार गरिएको इन्स्पेक्टर ओलीले बताए ।

उद्धार गरिएका दुई बालिकालाई असोज १८ गते नै अभिभावकको जिम्मा लगाइएको र शिशुसहितकी बालिकालाई भने अभिभावकको जिम्मा लगाउन बाँकी रहेको ओलीले बताए । गिरफ्तार गरिएकाहरूले गाउँ–गाउँ गएर लुगा व्यापार गर्ने गरेको बताइएको छ ।


कोकिला ढकाल