बेचबिखनमा परेका बालबालिकाको उद्दार

  ०७६ मङ्सिर १६ गते

विभिन्न समयमा बेचबिखनमा परेका एक बालक सहित तीन जनालाई  भारतबाट मङ्सिर १४ गते उद्दार गरिएको छ ।

रूपन्देही जिल्लाकी १६ वर्षीया बालिका, पर्सा जिल्लाका ११ वर्षीय बालक र १३ वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना केन्द्र कपिलवस्तुको पहलमा मङ्सिर १४ गते भारतको गोरखपुरबाट उद्दार गरी मङ्सिर १५ गते परिवारलाई जिम्मा लगाइएको छ ।

करिव ६ महिना पहिलेदेखि हराएका तथा नचिनेका मान्छेले प्रलोभन देखाएर भारत पुर्‍याइएका बालबालिकालाई भारतको गोरखपुरमा स्थानीय सङ्घसंस्थाले फेलापारी गोरखपुर स्थित बालगृहमा राखिएको थियो ।

परिवारले बालबालिका हराएको भन्दै प्रहरीमा उजुरी दिएको भएपनि भेटिएका थिएनन् । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुका संयोजक भुमि भट्टराईको पहलमा दिल्लीस्थित नेपाली दुतावासको सहयोग तथा भारतीय सङ्घसंस्थाको सक्रियतामा बालबालिकाको उद्दार गरी नेपाल ल्याइएको हो ।

बालबालिकालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको छ । बेचबिखन घटनाका आरोपितको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


पार्वती आचार्य