बेइजिङ कार्ययोजनाको पुनरावलोकन परामर्श कार्यशाला सम्पन्न

  ०७६ भदौ ६ गते

बेइजिङ कार्ययोजनाको २५ वर्ष पुगेको सन्दर्भमा सन् २०२० मा हुन लागेको बेइजिङ २५ को गण्डकी प्रदेशस्तरीय पुनरावलोकन परामर्श एकदिने कार्यशाला पोखरामा भदौ ५ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), साथी नेपाल र फाउण्डेसन फर अ जस्ट सोसाइटीको संयुक्त आयोजनामा बेइजिङ कार्ययोजनाले निर्देशित गरेका १२ ओटा बुँदाहरूको समीक्षालाई समेटेर प्रदेश तथा स्थानिय तहको पछिल्लो अवस्था र सुझाव सङ्कलन गर्नका लागि कार्यशालाको आयोजना गरिएको बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जाल नेपालकी सदस्य बन्दना राणाले जानकारी दिइन् ।

बेइजिङ कार्ययोजनाले महिला र गरिबी, महिला र स्वास्थ्य, महिला र सशस्त्र द्वन्द्व, महिलाको मानव अधिकार, महिला शिक्षा र तालिम, महिलाविरूद्ध हिंसा, महिला र अर्थतन्त्र, महिला विकासका लागि संस्थागत संरचना, महिला र सञ्चारमाध्यम, बालिका, महिला र वातावरण र निर्णय प्रक्रियामा महिला गरी १२ ओटा विषयहरूलाई समेटेको राणाले बताइन् ।

कार्यशालामा सहभागीहरूले गण्डकी प्रदेशमा महिलाहरूको अवस्था सन्तोषजनक नरहेको बताउँदै कानुनको व्यवहारिक कार्यन्वयनको खाँचो रहेको भनाई राखेका थिए ।

कार्यक्रममा हिंसा पीडित महिलाहरूका लागि व्यवस्थित आश्रयस्थल, प्रत्येक अस्पतालमा मनोवैज्ञानिक परामर्शदाताको व्यवस्था, महिलाहरूका लागि निश्चित प्रतिशत तोकेर बजेट विनियोजन गर्नुपर्ने, योजना बनाउने स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने जस्ता सुझाव सहभागीहरूले दिएका थिए ।

कार्यशालामा कास्की सहित तनहुँ, लमजुङ, गोरखा, म्याग्दी, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा महिला अधिकारका विषयमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले गण्डकी प्रदेशमा महिलाहरूको अवस्था, चुनौती र सुझावहरू पेश राखेका थिए ।


सुशन घिमिरे