बुहारी र नातिनी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ माघ ४ गते

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने समीर मिश्रकी २५ वर्षीया पत्नी सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्रलाई माघ ३ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

सीमाका माइतीले उनी र उनकी छोरी गौरीलाई घर पक्षले विष सेवन गर्न लगाएर हत्या गरेको भन्दै माघ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

घर पक्षले दाइजोका लागि सीमालाई दुःख दिने गरेको माइती पक्षको आरोप छ । घटनापछि सीमाका पति समिर मिश्र फरार छन् । सीमा र गौरीलाई विष खुवाएर समिर फरार भएको माइती पक्षको आरोप छ ।

विष सेवनका कारण सीमाको पुस ३० गते मृत्यु भएको र गौरीको पनि जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा माघ १ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

उनले घटनाको गहन अनुसन्धान भइरहेको बताए । एसपी थपलियाले भने–‘आत्महत्या गर्न उक्साएको भए पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुन्छ ।’


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम