बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार

  ०७४ जेठ ९ गते

पर्सागढी नपा-४ हरदासपुर की २३ वर्षीया रिङ्कु पटेलको हत्या गरेको आरोपमा प्रहरीले जेठ ८ गते ५१ वर्षीय ससुरा प्रेम पटेललाई गिरफ्तार गरेको छ ।

घरमा लुकिछिपी बसिरहेको अवस्थामा घटनाका आरोपित प्रेमलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।

उक्त घटनाका आरोपित रिङ्कुका २५ वर्षीय पति भूपेन्द्र पटेल भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पाष्टमार्टम गरि जेठ ७ गते नै पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जेठ ६ गते रिङ्कु घरैमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले पासो लगाएर आत्महत्या गरेको ससुरा पटेलले बताएका छन् । माइती पक्षले भने रिङ्कुको हत्या भएको भन्दै कारबाहीको माग गर्दै जेठ ७ गते जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

प्रहरीका अनुसार पासो काटेर रिङ्कुको शवलाई खाटमा सुताएको अवस्थामा भेटिएको थियो । जेठ ६ गते नै प्रहरीले रिङ्कुका पति र ससुरालाई गिरफ्तार गरेको भएपनि अनुसन्धान नगरी छाडेको पीडित पक्षको आरोप छ ।

रिङ्कुका बुवा बीरगञ्ज महानगरपालिका-१७ अलौका ५० वर्षीय प्रभू पटेलले दाइजो बापत दिएको पाँच कठ्ठा खेत बेच्न नमान्दा आफ्नो छोरीको हत्या गरिएको दावी गरेका छन् । रिङ्कुका बुवाले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी मानबहादुर राईले बताए ।


केसी लामिछाने