बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन डोकोकै भर

  ०७६ असोज २२ गते

सिगास गाउँपालिकाका अधिकांश नागरिकहरूले बिरामीलाई स्वस्थ्य संस्था पुर्‍याउन अझैसम्म पनि डोकोकै भर पर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य संस्थाहरूमा स्टेचरको अभाव हुँदा उनीहरूले डोकोको भर पर्नुपरेको हो । गाउँपालिका केन्द्र पुग्न समेत चार घण्टा पैदल हिँड्नुपर्ने सिगास गाउँपालिकाको थलाकाँडा, ढुङ्गाड, च्वागडलगायत क्षेत्रका नागरिकहरूले बिरामीलाई डोको र काठमा कपडा बेरेर अस्थायी स्ट्रेचर बनाएर स्वास्थ्यचौकी पुर्‍याउने गरेको स्थानीय गोकर्ण दयालले बताए ।

सिगास गाउँपालिका–७ बोरीगाउँकी पार्वती बोहरालाई सुत्केरी व्यथाले च्यापेपछि स्ट्रेचर नहुँदा आफन्तले सालको काठमा कपडा बेरेर बोक्दै बझाङ जिल्ला अस्पताल पुर्‍याएको स्थानीय सुरेन्द्र साउदले बताए ।

काठमा कपडा बेरेर झरीमा भिज्दै सुत्केरी बोक्नु पर्दा निकै दुःख भएको सुत्केरीका आफन्त कपील बोहराले गुनासो गरे ।

उनले भने–‘भूगोलले नै ठगिएका हामी जस्ता दुर्गम च्वाँगढवासीका पीडा गाउँघरको सरकारले पनि सुनेन । बजेट कता जान्छ ? थाहा छैन । हाम्रो दुःख जस्ताको तस्तै छ !’

सुत्केरी गराउन आफ्नै गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्य चौकी पुग्न ६ घण्टा र न्वाघर बर्थिङ सेन्टर पुग्न ३ घण्टा लाग्ने भएकाले त्यो भन्दा २ घण्टा उकालो हिँडेर बझाङको देउरा हुँदै जिल्ला अस्पताल बझाङ् पुर्‍याएर सुत्केरी भएको महिलाका बोहराले बताए ।

जिल्लाको पूर्वी च्वाँगढ क्षेत्रमा पर्ने सिगास गाउँपालिकामा करिब ३० हजार जनसङ्या छ । यहाँ ६ ओटा स्वास्थ्य चौकी रहेका छन् । स्वास्थ्य संस्थामा समेत स्ट्रेचर छैनन् । भएका स्ट्रेचर पनि खिया लागेर भाँचिएका छन् ।

यसअघि सिगास गाउँपालिका–७ बोहरीगाउँकी सरस्वती बोहरालाई पनि यस्तै समस्या भएको थियो । वडा नं. ४ गड्तोलाकी गीता साउदलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्‍याउन स्वास्थ्य संस्थाको खिया लागेको स्ट्रेचरमा बोक्दा आधा बाटो नपुग्दै स्ट्रेचर भाँचिएको थियो ।

आधा बाटोमा पुगेर स्ट्रेचर भाँचिएपछि सुत्केरीका आफन्तले काठमा कम्बल बेरेर अस्पताल लैजानु परेको सुत्केरीका नातेदार सुरेन्द्र साउदले बताए ।

च्वाँगढ क्षेत्रका स्वास्थ्य संस्थामा पुग्न बाटो समेत असजिलो छ । त्यसमाथि काठमा कपडा बेरेर ज्यान जोखिममा पार्दै सुत्केरी र अन्य बिरामीलाई बोकेर साँघुरो बाटोमा हिँड्नु परेको पीडा च्वाँगढवासीले झेल्नुपरेको छ ।

गाउँपालिकाले भने स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी गराउन विभिन्न मिडियामा विज्ञापन दिएर ठूलो धनराशी खर्च गरे पनि सुत्केरी बोक्न स्ट्रेचर नकिनेको स्थानीयको आरोप छ ।

स्वास्थ्य संस्थामा मात्रै नभएर प्रत्येक गाउँ टोलमा एउटा स्ट्रेचर राख्नु पर्ने विषयमा गाउँपालिकामा कुरा राखेको सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक जनकसिंह धामीले बताए ।

संयोजक धामीले भने–‘स्ट्रेचरको निकै समस्या छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्नु पर्ने कुरा मैले पटकपटक भन्दै आइरहेको छु ।’
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले स्ट्रेचर किन्ने सोच बनाएको बताए । अध्यक्ष धामीले भने–‘स्ट्रेचर महङ्गो नै पर्छ । यो वर्ष स्वास्थ्यमा ३० लाख रुपियाँ बजेट छुट्याइएको छ । पहिले पनि यस्तो समस्या आएको थियो अब यस विषयमा हामी गम्भीर छौँ, छलफल गर्छौँ । तर, स्ट्रेचर किन्छौँ ।’

बैतडीमा एक जिल्ला अस्पताल, दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ६४ ओटा स्वास्थ्य चौकी रहेका छन् । कुल १० स्थानीय तह रहेको बैतडी जिल्लाको स्वास्थ्य सूचाङ्कमा स्थानीय तहको पुनःसंरचना हुनुअघि देशभरीमै तेश्रो स्थानमा थियो ।

शिवनाथ गाउँपालिकामा पनि स्ट्रेचर अभाव हुँदा सुत्केरीलाई डोकोमा बोक्नुपरेको समाचार इन्सेक अनलाइनलगायत अन्य सञ्चार माध्यममा समाचार प्रशारण/प्रकाशन भएपछि एक महिनाभित्र गाउँपालिकाले स्ट्रेचर किनेको थियो । तर, सिगास गाउँपालिकामा भने अहिलेसम्म स्ट्रेचर खरिद गरिएको छैन् ।


नरी बडु