बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम प्रहार

  ०७४ कात्तिक २४ गते

प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम प्रहार भएको छ ।

कात्तिक २४ गते बिहान ९ः२० बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फजाँदै गर्दा चौरजहारी नपा-८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी दुई ओटा रेडबुलको बट्टामा बनाएको बम प्रहार गरिएकोमा सँगै रहेका सुरक्षाकर्मीको सजगताका कारण मानवीय क्षति हुन नपाएको बताइएको छ ।

एउटा बम पड्किएको र अर्को बमलाई नेपाली सेनाको टोलीले डिस्पोजल गरेको प्रहरीले जनाएको छ । यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) ले अनुसन्धान सुरू गरिसकेको डिएसपी राजेन्द्र धमलाले बताए ।

निर्वाचन विथोल्ने गतिविधिमा संलग्न समूहले यो घटना गराएको हुनसक्ने भन्दै उनीहरूको खोजी कार्य जारी रहेको पनि डिएसपी धमलाले जानकारी दिए ।

घटनापछि नेकपा एमाले रूकुम (पश्चिम) का इञ्चार्ज शेरबहादुर केसी र नेकपा माओवादी केन्द्र रूकुम (पश्चिम)का इञ्चार्ज राजकुमार शर्माले संयुक्त प्रेस नोट जारी गर्दै घटनाको भत्सर्ना गरेका छन् ।

'राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ताको रूपमा समेत रहनुभएका नेता शर्माले विभिन्न थ्रेटहरू सामना गरिरहेको सन्दर्भमा उहाँमाथि यो आक्रमण भएको छ ।'-प्रेस नोटमा भनिएको छ-'जो कसैका नामबाट यो आक्रमण गरिएपनि नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व र समृद्धि विरोधी दलाल तत्वहरूको साँठगाँठ योजनाबद्ध रूपमा भएकोमा कुनै शङ्का छैन ।'

Photo20171110Rukum


मनिषा केसी