बाहृय सरोकारवालाबाट गोरखा जिल्लामा सञ्चालित कार्यक्रमको अनुगमन

  ०७५ मङ्सिर १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गोरखा जिल्लामा सञ्चालित मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको बाहृय सरोकारवालाबाट मङ्सिर ८ र ९ गते गोरखा जिल्लामा अनुगमन गरिएको छ ।

अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दिपकजङ्गध्वज कार्की, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि बद्रिनाथ सुवेदी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेश संयोजक शिव खकुरेल सहभागी थिए ।

टोलीले अनुगमनका क्रममा गोरखामा इन्सेकले सञ्चालन गरेका कार्यक्रमहरूको गतिविधिको बारेमा सरोकारवालासँग छलफल र राय सुझाव लिएका छ ।

सोही क्रममा पत्रकार, नागरिक समाज, अधिकारकर्मी, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, एसपी विमल बस्नेत, पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाइको कार्यालयका प्रमुख रामकुमार श्रेष्ठलगायतसँग छलफल गरिएको थियो ।

छलफलमा सहभागी सरोकारवालाले जिल्लामा इन्सेकको गतिविधि प्रशंसनीय भएको प्रतिक्रिया दिएका थिए । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले घटना अभिलेखिकरणमा अन्य निकायलाई समेत सघाएको मानव अधिकार सञ्जालका सदस्य तथा जिल्ला मानव अधिकार एलाईन्सका ऋषि खनालले बताए ।

अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ संस्था मध्ये जिल्लामा इन्सेकको भूमिका अग्रणी देखिएको खनालले बताए ।

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाइका प्रमुख रामकुमार श्रेष्ठले इन्सेकले गर्दै आएको सार्वजनिक सुनुवाइ कार्यक्रमले भूकम्प पीडितको अवस्था उठान गर्न सघाउ पुगेको बताए ।

अझै पनि भूमिहीनहरूले जग्गा खरिद गर्न नसक्दा राहत रकम पाएपनि घर बनाउन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरे ।

गोरखामा पछिल्लो समय राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटना नभएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी विमल बस्नेतले बताए । घरेलु हिंसाका घटना न्यूनीकरणका लागी चेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बस्नेतको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जिल्लामा मानव अधिकारको क्षेत्रमा इन्सेकले गरेको भूमिका महत्वपुर्ण रहेको बताए ।

मानव अधिकारसम्बन्धी र कानुनसम्बन्धी जनचेतनामुलक कार्यक्रम बढाउन सके घटना न्यूनीकरणमा सहयोग पुग्ने पौडेलले बताए ।


हरिराम उप्रेती