बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बन्दी, व्यवस्थापनमा समस्या

  ०७६ मङ्सिर २६ गते

दिपायल सिलगढी  नगरपालिकास्थित सिलगढी बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिँदै आएका कारण उनीहरूले विभिन्न प्रकारको समस्या झेल्नु परेको छ ।

क्षमताभन्दा दोब्बर बढी बालकहरू राखिएका कारण उनीहरूलाई शौचालय प्रयोग गर्न लाइनबस्नु पर्ने तथा खानेपानीको समेत समस्या हुने गरेको छ ।

०७५ सालमा सुदूरपश्चिम प्रदेशको एक मात्र बाल सुधारगृहका रूपमा स्थापना गरिएको उक्त सुधारगृहको क्षमता २५ जनाको मात्रै भए पनि हाल ४८ जना बालकहरू राखिँदै आएका कारण उनीहरूले समस्या झेल्नु परेको मानव अधिकारकर्मी देबकी बोहराले बतउनुभयो ।

क्षमताभन्दा बढी बालकहरू राख्नु पर्ने बाध्यता भएकोले अहिले खान बस्न समस्या उत्पन्न हुन गई व्यवस्थापन गर्न अप्ठेरो भएको बाल सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नु भयो–‘क्षमताभन्दा बढी बालकहरू राख्नु परेका कारण व्यवस्थापन गर्न अप्ठेरो भएको छ । उनीहरूको सुरक्षा गर्न समेत समस्या हुने गरेको छ । सीमित बजेटका कारण उनीहरूको स्वास्थ्य उपचार गर्न चुनौती थपिएको छ । सम्पुर्ण समस्याहरू उल्लेख गरी लिखित प्रतिवेदन माथिल्लो निकायमा पठाएका छौँ ।’

बाल सुधार गृह, डोटीमा रहेका ४८ जना बालकहरूमध्ये १२ जनाको मुद्दा अदालतले फैसाल गरिसकेको  र बाँकी ३६ जना बालकलाई पुर्पक्षका रूपमा बालसुधार गृहमा राखिँदै आएको बाल सुधार गृह, डोटीका प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताउनुभयो ।


बासुदेब जोशी