बाल सञ्जालको सक्रियतामा बालविवाह रोकियो

  ०७६ फागुन १२ गते

१६ वर्षीया बालिकाको तिलाठी कोइलाडी गाउँपालिका–८ का २१ वर्षीय युवकसँग फागुन ९ गते हुन लागेको बालविवाह राजविराज नगर बाल सञ्जाल र राजविराज नगरपालिका वडा नम्बर ५ का पदाधिकारीहरूको सक्रियतामा रोकिएको छ ।

photo20200224saptari

घरपरिवारकै सल्लाहमा हुन लागेको बालविवाहको सम्पूर्ण तयारी भइसकेको सूचना पाएको वडा कार्यालय र बाल सञ्जालका पदाधिकारीहरु फागुन ९ गते राति विवाह घर पुगेर विवाह रोकेको नगर बाल सञ्जालका अध्यक्ष अनीषा ठाकुरले जानकारी दिनु भयो ।

विवाहका लागि जन्ती आउन मात्र बाँकी रहेको बेला वडा अध्यक्ष समिर झा, वडा सदस्य गंगासागर गुप्ता, नगर बाल सञ्जालकी अध्यक्ष ठाकुर र वडा बाल सञ्जालकी नेहाले बालविवाह गर्न नहुने भन्दै ‘विवाह रोक्नका लागि’ प्रहरीसहित बेहुलीको घर नै पुगेका थिए ।
विवाह रोक्न गएको संयुक्त टोलीलाई अभिभावकहरूले उमेर पुगेको किशोरी देखाए पनि शङ्का लागि कोठाहरू चेकजाँच गर्दा बेहुलीको पोशाकमा सजिएकी कक्षा ७ मा अध्ययनरत बालिका फेला परेको वडा अध्यक्ष झाले बताउनु भयो ।

विवाहका लागि सबै तयारी पूरा भएको र जागिरे युवक फेला परेकाले विवाह नरोक्ने अडान बेहुलीका अभिभावकको थियो । यसैबिच इन्स्पेक्टर बाबुराम कार्कीसहित बाल क्लवका पदाधिकारीहरूले बालविवाहको नकारात्मक असर र कानूनी प्रावधानबारे जानकारी गराएपछि बेहुलीका अभिभावक विवाह रोक्न तयार भएको इन्स्पेक्टर कार्कीले बताउनु भयो । इन्स्पेक्टर कार्कीका अनुसार छलफलपछि विवाह रोक्न तयार बालिकाका अभिभावकहरूलाई हाल दैनिक हाजिरीमा छाडिएको छ । राजविराज नपा–५ बालमैत्री वडा घोषणा भइसकेको छ ।

सप्तरीमा सन् २०१९ मा बालविवाहको एउटा घटनाको उजुरी परे पनि दर्ता नभएको घटना सार्वजनिक भएको थियो । सन २०१८ मा तीन ओटा उजुरी दर्ता भएकोमा पहिलो घटनामा आरोपितलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, दोस्रो घटनामा ६ महिना कैद र पाँच हजार जरिवाना, तथा तेस्रो घटनामा आरोपितलाई एक महिना कैद र १० हजार जरिवाना तथा पीडितका बुवा र आमालाई जनही ५ हजार जरिवानाको फैसला भएको थियो ।


मनोहरकुमार पोखरेल