बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

  ०७६ साउन ६ गते

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा लगाइएको छ ।

श्रम तथा रोजगार कार्यालय, कास्कीले असार २३ गते पोखराका होटलबाट बागलुङको जैमिनी नपा–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्दार गरेको थियो ।

होटलमा भाँडा माझ्ने, सरसफाई गर्ने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाइएका बालकहरूलाई स्थानीयको सूचनाको आधारमा उद्दार गरेर जिल्ला प्रशासन कार्यालय, बागलुङको रोहबरमा साउन ६ गते आफन्तको जिम्मा लगाइएको हो ।

श्रम तथा रोजगार विभाग, कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले बालक र उनीहरूले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिक सहित जिल्ला प्रशासन कार्यालय, बागलुङको रोहवरमा आफन्तलाई जिम्मा लगाएकी हुन् ।

उद्दार गरिएका विक्रम नेपालीले १५ महिना, राजु नेपालीले आठ महिना र प्रकाश नेपालीले १८ महिनादेखि बाल श्रमिकको रूपमा काम गर्दै आएका थिए ।

उनीहरूले पाउने पारिश्रमिकबाट विक्रमलाई ८ हजार, राजुलाई ३ हजार र प्रकाशलाई ९ हजार रुपियाँ नगद दिइएको र बाँकी पैसा बालिग भएपछि उनीहरूले प्रयोग गर्ने गरी गण्डकी विकास बैङ्क, बागलुङमा बचत खाता खोलेर जम्मा गरिदिएको जिल्ला प्रशासन कार्यालय, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

तीनैजना बालकको गण्डकी विकास बैङ्क, बागलुङमा व्यक्तिगत खाता खोलिएको र विक्रमको नाममा ६८ हजार ८ सय ६० रुपियाँ, राजुको नाममा ५० हजार ६ सय रुपियाँ र प्रकाशको नाममा ६६ हजार ७ सय ६० रुपियाँ जम्मा गरिएको पन्तले बताए ।


सिर्जना पन्त