बाल विवाह रोक्न न्यायिक समिति सक्रिय

  ०७६ चैत ५ गते

काभ्रेको भुम्लु गाउँपालिकामा बाल विवाह रोक्न न्यायिक समिति सक्रिय भएको छ । गाउँपालिका भित्र ०७६ साउनदेखि फागुनसम्म २५ जना बालबालिकाको बाल विवाह भएपछि पालिकाले यो अभियान थालेको हो ।

कार्यपालिमा ०७६ साल फागुन १८ गते बसेको बैठकले गाउँपालिका भित्र बाल विवाह न्यूनिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले बताउनु भयो । भुम्लु गाउँपालिका–१ सेतीदेवि मावि सापिङ्का प्रधानाध्यापक अमर प्रधानले सोही विद्यालयकी कक्षा सातमा अध्ययनरत १५ वर्षीय छात्र र कक्षा १२ की १७ वर्षीय छात्राले बाल विवाह गरेको बताउनु भयो । प्रधानका अनुसार यस वडामा विगत तीन वर्षयता ६ वटा बाल विवाह भएको छ ।

यसैगरी वडा–सात फलाटेमा रहेको सारदा माविको कक्षा सात र आठमा पढ्दै गरेका चारजना छात्राहरूले बाल विवाह गरेको विद्यालयका प्रधानाध्यापक गुणरत्न उप्रेतीले बताउनु भयो । उनीहरूको उमेर १७ वर्षभन्दा कम रहेको प्रधानाध्यापक उप्रेतीले बताउनु भयो । भुम्लु गाउँपालिका–६ कोलातीमा गत भदौ महिनामा बाब विवाह भएको जनता मावि ब्यवस्थापन समितिका अध्यक्ष क्रान्ति दोङले बताउनु भयो ।

भुम्लु गाउँपालिका–८ भुम्लुटारको प्रकाश माविका प्रधानाध्यापक हरिनारायण शाहले आफ्नै विद्यालयबाट पनि यो वर्ष पाँचजना बालबालिकाले बाल विवाह गरेको बताउनु भयो । बाल विवाह मोबाइल फोन र सामाजिक सञ्जाल फेसबुकका कारण बढेको शाहले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले पालिकाभित्र बाल विवाह बढेकाले न्यूनिकरणका लागि एक महिने चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । पाँचखाल नगरपालिका मात्रै एकसाता अघि दुईओटा बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय धुलिखेलको ज्येष्ठ नागरिक तथा महिला, बालबालिका सेल प्रमुख सई सीता श्रेष्ठले बताउनु भयो ।


हिरामान तामाङ