बाल विवाह घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज १० गते

नौमूले गाउँपालिका र डुंगेश्वर गाउँपालिकामा बाल विवाह घटनाका चार आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नौमूले गाउँपालिका–३ द्वारीका १७ वर्षीय बालक र नौमूले गाउँपालिका–५ नौमूलेकी १६ वर्षीया बालिकालाई गिरफ्तार गरेको हो ।

भदौ १० गते बालविवाह गरी बसेको भन्ने सूचनाको आधारमा उनीहरूलाई असोज ९ गते नौमूले गाउँपालिका–३ द्वारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनमोल श्रेष्ठले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

त्यसैगरी डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षीय पूर्णबहादुर बुढाले सोही गाउँपालिका–३ चौखडाकी १५ वर्षीया बालिकालाई बाल विवाह गरेको आरोपमा दुबै जनालाई प्रहरी गिरफ्तार गरेको छ ।

भदौ ३० गते बालविवाह गरेको भन्ने पीडित पक्षको उजूरीको आधारमा असोज ६ गते गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

दुबै जोडीलाई बाल विवाह कसूरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठको भनाई छ ।


अमर सुनार