बाल विवाह गरेको कसुरमा २ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला

  ०७६ कात्तिक ९ गते

१६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा धरौटीमा रिहा भएका ताप्लि गाउँपालिका–५ का २७ वर्षीय उमेश ज्युठकुरीलाई जिल्ला अदालतले कात्तिक ७ गते २ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको इजलासले बालविवाह गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । घटनामा मतियारको आरोपमा गिरफ्तारपछि धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका–४ का २२ वर्षीया कल्पना ज्युठकुरी र उमेशका ५२ वर्षीय बाबु झनकबहादुर ज्युठकुरीलाई भने सफाई दिएको छ ।

पीडितलाई औँठी बनाइदिने प्रलोभनमा पारी ०७६ वैशाख २ गते उमेश, कल्पना र झनकले छोरीलाई भगाई विवाह गरेको भन्दै पीडित बालिकाका बाबुले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

भागी विवाहपछि सम्पर्कविहीन भएका उनीहरूलाई परिवारले खोजतलासका क्रममा झण्डै डेढ महिनापछि फेला पारेका थिए ।

पीडितको निवेदनसँगै प्रहरीले कल्पना, उमेश र उनका बाबुलाई जेठ २८ गते गिरफ्तार गरी अनुसन्धान सुरू गरेको एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनीहरुलाई अदालतले असार १६ गते जनही ७५ हजार रुपियाँका दरले धरौटी लिई रिहा गर्ने आदेश दिएको थियो ।


भरत खड्का