बाल विवाहका कारण आमा र शिशुको स्वास्थ्य जोखिममा

  ०७६ पुस २९ गते

बाल विवाहका  कारण आमा र शिशुको स्वास्थ्य जोखिममा रहेको छ ।  जिल्लाको ग्रामीण क्षेत्रहरूमा प्रत्येक वर्ष  उमेर नपुगेका बुबा आमाबाट जन्मिएका १२ देखि १५ जना नवजात शिशुको मृत्यु हुने गरेको जिल्ला अस्पताले जनाएको छ ।

जिल्ला अस्पतालका डाक्टर पुष्प ज्ञवालीका अनुसार बाल विवाह गरेका आमा बुबाबाट जन्मने बच्चा तन्दुरुन्त नहुने र शिशुको मृत्यु हुने पाइएको छ ।

जिल्लाकै बिकट गाउँका रुपमा रहेका पुर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र निस्दी गाउँ पालिकामा उक्त समस्या रहेको छ ।   जिल्ला प्रहरी कार्यालयमा बाल विवाहको  कुनै उजुरी नपरेको सई मोतीबहादुर खड्काले बताउनु भयो ।

नेपालको कानुन अनुसार विवाह गर्न २० वर्ष उमेर पुगेको हुनु पर्छ ।  पुर्वखोला गाउँपालिकाका  स्वास्थ्य चौकीका प्रमुख अमृतमान श्रेष्ठका अनुसार ग्रामीण भेगमा चेतनाकै कमीका कारण २० वर्ष नपुग्दै विवाह गर्नेहरू अझै पनि २५ प्रतिशत भन्दा बढी रहेका छन् ।  विशेषगरी दलित र जनजातीको बस्ती रहेका समुदायमा कलिलो उमेरमै विवाह गर्ने गरेको पाइएको श्रेष्ठले बताउनु भयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम उमेरका आमा बुबाबाट जन्मने बच्चा शरीरिक र मानसिक रुपमा अशक्त हुनुको साथै  आमा र बच्चाको स्वास्थ्य जोखिममा रहन्छ ।

२० वर्ष नपुग्दै बिवाह गरेकी पूर्वखोला गापा–४ देबीनगरकी २२ वर्षीया रिता थापाले आफूले उमेर नपुग्दै बिवाह गरेका कारण दुःख पाएको बताउदै साथीहरूलाई कम उमेरमा विवाह नगर्न  सुझाव दिने गरेको बताउनु भयो ।

अहिले पनि २० वर्ष नपुग्दै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गरेको सङ्ख्या धेरै छ । स्वास्थ्य र  कानुनी चेतनाको कमीकै कारण पनि उमेर नपुग्दै बिवाह गर्ने र बच्चा जन्माउने किशोरीहरू शारीरिक जोखिममा पर्ने गरेको जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरीटेन्डेन्ट डा. पुष्प ज्ञवालीले बताउनु भयो ।

पहिला अभिभावकले नै सानो उमेरमा विवाह गराउथे  भने अहिले विभिन्न कारणले आफुखुसी विवाह गर्ने प्रचलनले पनि समस्या आएको  रिब्दीकोट गाउँपालिका– १ ख्याहाका नारायण कुमालले बताउनु भयो ।

 


यज्ञमूर्ति तिमिल्सिना