बाल क्लबको सक्रियतामा बालविवाह रोकियो

  ०७६ असार ३० गते

बाल क्लबको सक्रियतामा हुँदै गरेको एउटा बालविवाह रोकिएको छ । कुमाख गाउँपालिका-६ बडागाउँका १७ वर्षीय बालक र दार्मा गाउँपालिका की १७ वर्षीया बालिकाबीच असार २८ गते हुन लागेको बालविवाह रोकिएको हो ।

बालविवाह हुँदै गरेको जानकारी पाएपछि वडास्तरीय बालक्लब गएर विवाह रोकेको क्लबका अध्यक्ष युवराज खड्काले बताए ।

'बालविवाह हुन लागेको भनेर स्थानीयबाट जानकारी पाए लगत्तै विवाह हुन लागेको घरमै गएर बालविवाहसम्बन्धी कानुनी कारवाहीका विषयमा अभिभावकलाई जानकारी दियौँ ।'-अध्यक्ष खड्काले भने-'अभिभावकलाइ कानुनी विषयमा जानकारी गराएपछि बालविवाह रोक्न सफल भइयो ।'

सानै उमेरमा विवाह गर्दा दम्पत्तिलाई भविष्यमा हुनसक्ने जोखिम, वर्तमान अवस्थामा हुन सक्ने समस्या, सामाजिक, सांस्कृतिक रूपमा देखापर्ने समस्याको बारेमा जानकारी दिएको र दुवैलाई अभिभावकको जिम्मा लगाई आ-आफनो घरमा पठाइएको खड्काले जानकारी दिए ।


मिना बुढाथोकी