बाल अधिकार सुनिश्चित गर्न आयोग प्रतिबद्ध: सदस्य पाठक

  ०७६ भदौ ४ गते

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बाल अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

मानव अधिकार विश्वव्यापी आवधिक समीक्षाको तेश्रो चक्र प्रतिवेदन तयारीका क्रममा नेपालको बालकेन्द्रित विषयवस्तु समेट्न भदौ ३ गते वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय दुईदिने कार्यशालाको समापन कार्यक्रममा आयुक्त पाठकले सो कुरा बताएका हुन् ।
Photo20190821Surkhet02
सदस्य पाठकले भविष्यका कर्णाधार बालबालिकाहरूको अधिकार सुनिश्चित नगरिएसम्म सुखी र समृद्ध समाजको परिकल्पना गर्न नसकिने उल्लेख गरे ।

बाल अधिकारको क्षेत्रमा क्रियाशील सरकारी, अन्तर्राष्ट्रिय तथा गैरसरकारी सङ्घसंस्था एकै ठाउँमा बसेर व्यापक रूपमा छलफल गरी उनीहरूको अधिकार सुनिश्चत गर्नु आजको प्रमुख आवश्यकता रहेको पाठकले औँल्याए ।

कार्यशालामा बालबालिकाहरूको सर्वोत्तम हितका लागि प्रदेश र नगर तथा गाउँपालिकाले के कस्ता काम गरेका छन् ?, बालबालिकासम्बन्धी ऐन ०७५ मा सुधार गर्नुपर्ने विषय, बालश्रमसम्बन्धी कानुन पर्याप्त भए/नभएको, प्रदेश तथा स्थानीय तहमा बालबालिकालाई हानी विभेद गर्ने खालका कुनै धार्मिक, सांस्कृतिक अभ्यास छन् छैनन्, बाल संरक्षण, बालविवाह र बेचबिखनको अवस्थाका आदीका बारेमा छलफल गरिएको थियो ।

यस्तै कार्यशालामा प्रदेश तथा स्थानीय तहमा भेदभाव हिंसा, शोषणमा परेका बालबालिकाहरूले सहज र छिटो छरितो रूपमा न्याय पाए/नपाएको, पुर्व बाल लडाकुहरूले न्याय पाए/नपाएको, बाबु आमाको नामबाट नागरिकता पाए नपाएको, कार्यान्वयनको अवस्था, खोप, मातृशिशु मृत्युदर, समग्र स्वास्थ्यको अवस्था र शिक्षा स्वास्थ्य र सामाजिक जीवनमा सहभागिताको अवस्थाका बारेमा रहेका समस्या, चुनौती तथा सुझाव सङ्कलन गरिएको थियो ।

कार्यशालामा कर्णाली प्रदेशमा बाल अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी तथा सञ्चारकर्मीहरू सहभागी थिए ।

Photo20190821Surkhet01(1)


दुर्गा थापा