बालिका अपहरण घटनाका आरोपितहरू गिरफ्तार

  ०७७ कात्तिक ५ गते

८ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले ०७७ कात्तिक ३ गते राती गिरफ्तार गरेको छ ।

बारा जिल्ला सिम्रौनगढ नगरपालिका घर भई महालक्ष्मी नगरपालिका बस्ने बालिकालाई ०७७ कात्तिक ३ गते साँझ अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा आरोपितहरूलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका सहायक प्रवक्ता एवम् डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएकाहरूमा सर्लाही जिल्ला हरिवन नगरपालिका–८, घर भई ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने ३० वर्षीय राजु कार्की, काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–८, घर भई ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने २३ वर्षीया सीता परियार र धनुषा जिल्ला, धारापानी गाउँपालिका–२, घर भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने ४० वर्षीय कृष्ण तोलामी रहेको प्रहरीले जनाएको छ ।

कोठा भन्दा बाहिर खेलिरहेको समयमा साईकल चढी आएका व्यक्तिहरूले बालिकालाई कात्तिक ३ गते साँझ साईकलमा राखी लगेको भनि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक जानकारी दिएपछि तत्कालै खोजी गर्दै जाँदा राती १०.१५ बजे अपहरित बालिकालाई उद्धार गरिएको डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

बालिकालाई हरिसिद्धि स्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी तत्कालै उद्धार गरी परिवारको जिम्मा लगाइएको र अपहरणमा संलग्न तीनै जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको परिसरकार प्रमुख एसएपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे