बालिका अपहरण गरेको आरोपमा विप्लव नेतृत्वका प्रतिबन्धित नेकपाका १४ कार्यकर्ता गिरफ्तार

  ०७६ फागुन ३० गते

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नौ जना पुरुषसहित १४ जना कार्यकतालाई ठुलो परिमाणमा हतियारसहित फागुन २९ गते गिरफ्तार गरेको छ ।

गणेशमान चारनाथ नपा–५ चिसापानी गौरी खोला बस्ने लाल बहादुर मोक्तानको १४ वर्षीया छोरी करिना मोक्तानलाई फागुन २८ गते बिहान ३ बजे अपहरण भएको थियो । बालिका अपहरण भएको २४ घण्टा नबित्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरणकारीहरूलाई गिरफ्तार गरेका हुन् ।

बालिकालाई अपहरणमा परेको भनी प्रहरीमा फागुन २८ गते नै जानकारी भएपछि खोजी गर्दा धनुषा, सिरहा र उदयपुरबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १३ जना अपहरणकर्तालाई गिरफ्तार गरि अपहरित बालिकालाई उदयपुरको कटारी–१ खसीवासबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

धनुषा प्रहरीका अनुसार गिरफ्तार हुनेमा इलामको फाकफोक बस्ने २० वर्षीया मुस्कान राइ, सुनसरीको इटहरी बस्ने २८ वर्षीय बिबेक खड्का, सर्लाहीको लालबन्दी बस्ने १६ वर्षीया रिता कार्की, ताप्लेजुङको खोक्सिङ बस्ने २० वर्षीय बिकास राई, इलाम बतासे बस्ने २७ वर्षीय आयुष मगर, उदयपुरको ताप्ली गाउँपालिका बस्ने १८ वर्षीय अविनाश तामाङ, उदयपुर गाईघाट बस्ने २० वर्षीय आशिष लामा, ताप्लेजुङ बस्ने १६ वर्षीया रञ्जना राई, धनकुटा पाक्रीबास बस्ने १९ वर्षीया अनिता राई, कैलाली बस्ने बस्ने १९ वर्षीया अनुस्का राउत, मोरङ आइतबारे बस्ने १७ वर्षीया सपना राई, भोजपुर बस्ने ४५ वर्षीय मणिराज राई, मोरङ बस्ने १५ वर्षीय आशिस श्रेष्ठ र सिन्धुलीको ज्यामिरे बस्ने १२ वर्षीय ईश्वर पुलामी मगर रहेका छन् ।

गिरफ्तार परेका नेत्र विक्रम चन्द विप्लवका कार्यकताहरूले बोकेको चाईनिज पेस्तोल ३ थान, सो. को म्याग्जिन ३ ओटा, चाईनिज पेस्तोलमा लाग्ने ९ राउण्ड गोली, हातले बनाएको ११ थान सकेट बम, एउटा कुकर बम, एक थान खुकुरी र १ थान डेटोनेटर तारलगायतको समान बरामद गरेको छ ।


दिपेन्द्रप्रसाद सिंह