बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा गिरफ्तार

  २०७६ पुस १७ गते

एक १२ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला बरथ्वा नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने २१ वर्षीय नारायण मल्ललाई २०७६ पुस १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ पुस ४ गते बालिकालाई ललाई पकाई प्रलोभनमा पारी अपहरण गरी कैलाली जिल्लाको धनगढी नगरपालिका–२ मा लगेर शरीर बन्धक बनाई बलात्कार गरेको पीडितकी आमाले बताउनुभयो ।  पीडितकी आमाले महानगरीय प्रहरी बृत्त सातदोबाटोमा पुस ५ गते दिइएको उजुरीको आधारमा खोजी गरेको प्रहरीले जनाएको छ । कैलाली जिल्लाको धनगढी नगरपालिका–२ मा फेला पारी आरोपितलाई पुस १५ गते गिरफ्तार गरी महानगरीय प्रहरी परिसर ललितपुरमा ल्याइएकोे महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता दुर्गा सिंहले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । आरोपित बिरुद्ध अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दीपकप्रसाद घिमिरे