बालविवाह: साढे ४ सय बालिका बने आमा, २० वर्ष नपुग्दै पाठेघरको समस्या

  ०७६ साउन २६ गते

भर्खर १६ वर्षमा टेकेकी शारदा नगरपालिका–१० की हिरामाया (नाम परिवर्तन) लाई केही दिन पहिले जिल्ला अस्पताल सल्यानमा जन्मिएकी छोरीको हेरचाह गर्न निकै धौ–धौ छ । १४ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा परिवारले बिहे गरिदिएपछि आफ्नो दुःखका दिन सुरू भएको उनलाई महसुस भएको छ ।

‘केटापक्षले जति पढ्न मन लाग्छ हामी पढाइदिन्छौँ भनेपछि आफूले नचाहँदा नचाहँदै पनि माइतीले केटा बोलाएर पठाइ दिए ।’–उनले भनिन्–‘अहिले काखमा छोरी छ । एसइई दिनेबेला गर्भ थियो । त्यसैले पढ्न  सकिएन । बिहे गर्दा पढाइबाट पनि वञ्चित हुनु परेको छ भने अहिले छोरी स्याहार गर्न समेत समस्या भएको छ ।’

जिल्ला अस्पताल सल्यानममै १५ वर्षको उमेरमा बच्चा जन्माएकी लक्ष्मीको पीडा पनि त्यो भन्दा कम छैन ।

लहलहैमा १४ वर्षको उमेरमा विवाह भएको बताउने लक्ष्मी पनि १५ वर्षको उमेरमा आमा बनिन् । उमेर नै नपुगी आमा बनेपछि शिक्षा, स्वास्थ्य र सरसफाईको असाध्यै समस्या भएको उनी बताउँछिन् ।

यि दुइ प्रतिनिधिमुलक घटना जस्तै बालिका अवस्थामै बच्चा जन्माउनेहरूको सङ्ख्या हेर्दा निकै भयावह छ ।

जिल्लामा बितेको एक वर्षको अवधिमा झण्डै साढे ४ सय बालिकाले बच्चा जन्माएको अभिलेख छ । यो अभिलेख अस्पताल पुगेर सुरक्षित प्रसूति सेवा लिनेहरूको मात्रै हो ।

जिल्ला अस्पतालको रेकर्ड फाइलमा एक वर्षको अवधिमा ४ सय ४३ जना बालिकाले सुरक्षित प्रसूति सेवा लिएको देखिन्छ ।

आर्थिक वर्ष ०७५/०७६ को साउनदेखि असारसम्म प्रसूति सेवा लिएका १ हजार ३ सय १२ जनामध्ये ४ सय ४३ जना २० वर्ष मुनिका रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

अस्पतालका अनुसार साउन महिनामा १ सय ४७ जनामध्ये ६० जना, भदौमा ९३ जनामध्ये ३३, असोजमा १ सय १५ जनामध्ये ४६, कात्तिकमा ८५ जनामध्ये ३० जना मङ्सिरमा ७२ जना मध्ये १८ जना र पुस महिनामा ९४ जनामध्ये ३३ जना बालिकाले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएका छन् ।

यस्तै माघमा ८३ जनामध्ये २४, फागुनमा १ सय ९ जनामध्ये ३०, चैतमा १ सय ३० जनामध्ये ४५, वैशाखमा १ सय २७ जनामध्ये ४६, जेठमा १ सय १४ जनामध्ये ३५ र असारमा १ सय ४३ मध्ये ४३ जना बालिकाले प्रसूति सेवा लिएको जिल्ला अस्पताल सल्यानमा कार्यरत स्टाफ नर्स कोपिला रानाले जानकारी दिइन् ।

जिल्ला अस्पतालको यो तथ्याङ्कले पनि जिल्लामा बाल विवाहको अवस्था कति भयावह छ भन्ने देखाएको सरोकारवालाहरूको धारणा छ ।

जिल्लामा बाल विवाह गर्नेहरूको एकिन तथ्याङ्क नभएपनि जिल्ला अस्पताल सल्यानको यो अवस्था, विभिन्न सङ्घसंस्थाले सल्यान जिल्लामा बाल विवाहको अवस्था कर्णाली प्रदेशमा सबैभन्दा विकराल भएको बताउँदै आएका छन् ।

२० वर्ष नपुग्दै पाठेघरको समस्या
दुई तीन महिना जति लगातार तल्लो पेट दुख्न थालेपछि शारदा नगरपालिका निवासी २० वर्ष पुग्नै लागेकी एक युवती जिल्ला अस्पताल पुगिन् ।

अस्पतालमा स्वास्थ्य जाँच गर्दा पाठेघरमा समस्या रहेको थाहा भयो । उनले भनिन्–‘पाठेघरमा समस्या देखियो डाक्टरले औषधि दिनु भएको छ । सानै उमेरमा बच्चा जन्माएका कारण पाठेघर झरेको भन्नु भयो । यो औषधि खानु भन्नु भएको छ र व्यायाम पनि गर्नु पर्छ रे ।’

सानै उमेरमा विवाह गर्दा महिलाहरूले भोग्नुपर्ने यो मुख्य समस्या हो । अहिले जिल्ला अस्पताल सल्यानमा २० वर्ष नपुग्दै पाठेघरको समस्या भएकाहरू धेरै आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल सल्यानका डक्टर प्रदीप शर्माले यो समस्यालाई अभियानकै रूपमा नलगेसम्म समस्या रहिरहने बताए ।

जिल्लामा बाल विवाह बढेसँगै महिलाहरूमा विभिन्न शारीरिक समस्या देखिन थालेका छन् । उमेर नपुगी विवाह गर्ने र कम उमेरमै बच्चा जन्माउन थालेपछि विशेषगरी पाठेघरमा समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पतालमा यस आर्थिक वर्षमा २ सय ३१ जना महिला पाठेघरको समस्या भएका महिला उपचार गराउन आएकोमा ४२ महिला ३० वर्ष मुनिका रहेका छन् ।

बाल विवाह गरेर कम उमेरमा बच्चा जन्माउँदा ३० वर्षको उमेरमै पाठेघर खस्ने समस्या देखिएको जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताए ।

कम उमेरमा आमा बन्दा आमा बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिने गरेको उनले बताए । ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दिर्घकालमा पाठेघर खस्ने, पिसाव चुहिने समस्या हुन सक्छ ।’–उनले भने–‘कम उमेरमा जन्मिएको बच्चाको तौल कम हुने गरेको पाइएको छ ।’

यहाँको सामाजिक परिवेश हेर्दा कम उमेरमै प्रेम गरेर भागी विवाह गर्नेहरूको सङ्ख्या बढी देखिने गरेको छ ।

यस्तै कृषिमा आत्मनिर्भर रहेका यहाँका स्थानीय घरमा काम गर्न सहयोग मिल्ने आशाले पनि छोराले सानै उमेरमा विहे गरेपनि ठुलो रूपमा नलिने हुँदा समस्या आएको सरोकारवाला बताउँछन् ।

अपर्याप्त न्यूनीकरण अभियान
स्थानीय तहहरूले भने बाल विवाह न्यूनीकरणका लागि खासै ठोस योजना बनाएको देखिँदैन । शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले बाल विवाह बढिरहेको सन्दर्भमा अब नगर भित्रका प्रत्येक माविमा बाल विवाह न्यूनीकरणका लागि ‘किशोरकिशोरी’ शिक्षा लिएर जाने बताइन् ।

यस्तै समुदाय स्तरमा पनि अभिभावकहरूसँग अन्तरक्रिया गर्ने उनले जानकारी दिइन् । जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाले बाल विवाह न्यूनीकरण गर्नका लागि केही प्रयास गरेको भएपनि यहाँका अन्य स्थानीय तहले भने बाल विवाह न्यूनीकरणका लागि बनाएका योजना प्रभावकारी बन्न सकेका छैनन् ।

बाल विवाह न्युनिकरण गर्नका लागी भइ रहेका बाल विवाहलाइ रोक्ने खालका कार्यक्रमहरू ल्याउनु पर्ने अधिकारकर्मीको भनाइ छ ।

स्थानीय सरकारले बालबालिकाका लागि स्पष्ट नीति बनाउने र यस्ता घटनामा संलग्नलाई कानुनको दायरासम्म पु¥याउन सकेमात्र यस्ता घटना न्यूनीकरण गर्न सकिने मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले बताए ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतनाको कमी र सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले पनि बाल विवाह हुने गरेको शारदा नगरपालिका–२ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठले बताए ।

‘म आफैँ बाल विवाहको उजुरी लिएर प्रहरी कार्यालय पुगेकै हो ।’–उनले भने–‘सबै तह र तप्काबाट यसलाई अभियानकै रूपमा लैजान आवश्यक छ ।’

तर, जिल्लामा सानै उमेरमा बाल विवाह गरेर पछि विभिन्न समस्या भोग्दै आएपनि बाल विवाहबारे प्रहरीमा यस आर्थिक वर्षमा तीन ओटा मात्रै उजुरी परेको छ ।

‘किन उजुरी आउँदैन त ?’– यस्ता घटनाबारे कसैले प्रहरीमा जानकारी गराएमा समाजमा उपेक्षित हुने डरले पनि घटनाहरू बाहिर आउन नसकेको जनप्रतिनिधि हरूको धारणा छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि जिल्लामा बाल विवाह भइरहँदा समेत बाल विवाहका उजुरीहरू नआउने भएकाले न्यूनीकरण गर्न समस्या रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्रबहादुर शाहीले बाल विवाह भयावह रूपमा भइ रहेपनि प्रहरीसम्म कमै मात्रामा उजुरी आउने गरेको बताए ।
उनले पहिलो दायित्व भनेको स्थानीय सरकारको हुने भएकाले बाल विवाह न्यूनीकरणका लागि चेतनामुलक कार्यक्रम गर्न सबै सरोकारवालाहरूसँग सहकार्य गरेर स्थानीय स्तरमा चेतना फैलाउन जरूरी रहेको बताए ।


मिना बुढाथोकी