बालविवाह र असमान ज्यालको विषयमा जिल्लास्तरमा सम्वाद

  ०७६ भदौ ३१ गते

'१७ वर्षमा बिहे भयो २७ वर्षमा विधुवा भएँ । यहि बिचको १० वर्षमा स्वर्ग र नर्क दुवैजस्तो जीवन भोगेकी छु ।'-काठेखोला गाउँपालिका-७ रेशकी ३१ वर्षीया गिता जिसी आँखाभरी आशु पार्दै भन्छिन् । अहिले उनी आफ्ना दुई सन्तान निशा र गणेशसँगै दुखजिलो जीवन बाँचिरहेकी छिन् । भदौ ३० गते काँठेखोला गाउँपालिका-६ सुल्डाँडामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँगै इक्वयल एक्सेस, स्टोरी किचन, युएन वुमनको संयुक्त आयोजनामा भएको सामाजिक मुल्य मान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे अन्तरपुस्ता सम्वाद कार्यक्रममा जीवनको कथा सुनाउँदा गिता भक्कानिएर रोइन् ।

Photo20190917Baglung (2)

'बिहे भएको एक वर्षमै छोरी जन्मी ! विस्तारै थाहा भयो छोरी अपाङ्ग पो रहिछे । छोरीकै लागि भनेर आठ वर्ष भारतको मुम्बइमा बितायौँ । उसको उपचारको लागि सकेको प्रयास गर्‍यौँ ।'-गिता भन्छिन्-'केही सिप नलागेर ६ वर्षपहिले घर फर्कयौँ । घर आएपछि मात्रै थाहा भयो भूकम्पले हल्लाएको घर मान्छे बस्न छाडेपछि खण्डर जस्तै भएको रहेछ । छिमेकीको घरमा बसेर त्यही घर सजाउँदै थियौँ । पतिको पनि मृत्यु भयो । उहाँको मृत्यु हुँदा गर्भमा रहेको छोरो अहिले पाँच वर्षको भएको छ ।'

पतिको मृत्युले विचलित भएकी गिताले समाज र सङ्घसंस्थाको सहयोगमा छोराछोरी हुर्काउँदै त छिन् तर अझै पनि डाक्टरले सानो उमेरमा बच्चा जन्माएको कारणले छोरी अपाङ्ग जन्मिएको भनेको कुराले उनको मुटु बिझाउँछ ।

Photo20190917Baglung (1)

भदौ ३० गते काठेखोला गाउँपालिकामा बालविवाह र असमान ज्याल, त्यसको असर, प्रभाव र रोकथामका उपायको बारेमा जनप्रतिनिधि, प्रहरी, शिक्षक, विद्यार्थी, युवा क्लवका प्रतिनिधि, न्यायिक समिति, श्रमिक, स्वास्थ्यकर्मी र बालविवाहबाट प्रभावितहरूको विचमा गरिएको सम्वाद कार्यक्रममा उनीहरूले आफ्नो भोगाइ र समाजको अभ्यासको बारेमा खुलेर छलफल गरे ।

जनशान्ती युवा क्लवका सदस्य सन्तोष पुन २८ वर्षका भए । सन्तोष भन्छन्-'बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । आमाले घरमा कुखुरा, बाख्रा, भैंसी पाल्ने, आमाले कहिलै पनि बाबा वा मलाई नसोधी दुध बेचेको, कुखुरा, बाख्रा बेचेको याद नै छैन ।' उनकी आमाले अहिले पनि सानोसानो कुरामा निर्णय गर्नुपर्दा सन्तोष र उनका बाबासँगै सोधेर गर्ने गरेकी छिन् । 'मैले कतिपटक आमालाई भने आमा मलाई सोध्नु पर्दैन हजुरलाई जे ठिक लाग्छ त्यही गर्नुस भनेर तर आमाले कहिलै मान्नुहुन्न ।'-उनले भने ।

Photo20190917Baglung (3)

कार्यक्रममा महिला र पुरुषले समान काम गरेपनि ज्यालामा भने विभेद गर्ने गरिएको बताइएको थियो । 'हामीलाई ज्यालमा मात्र होइन समयमा पनि विभेद गर्ने गरिएको छ ।'-काठेखोला गाउँपालिका-१ की २७ वर्षीया डिलकुमारी थापाले भनिन्-'पुरुषले दिनभर काम गर्दा ८ सय रुपियाँ पाउँछन् । हामीलाई चार सय रुपियाँ दिइन्छ ।' काठेखोला गाउँपालिकासँगै बागलुङका विभिन्न ग्रामिण भेगमा पर्म, हुद्दा लगाउने प्रचलन रहेको र महिलाले दुई दिन काम गरे बाराबर पुरुषले एक दिन काम गरे पुग्ने गरेको भन्दै कार्यक्रमका सहभागिले समान हुनुपर्ने बताएका थिए ।

सो अवसरमा काठेखाला गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक अर्जुनबहादुर खत्रीले मेलापात र अर्म-पर्ममा हुने असमान ज्यालाको बारेमा आफुहरूले अहिलेसम्म विचारनै नगरेको भन्दै आगामी दिनमा गाउँपालिकाको बैठकमा कुरा लैजाने समेत बताएका थिए । 'हामीले अहिले भर्खर बालविवाह भएको छैन क्यारे भनेर बालविावहको बारेमा पनि सोचेका थिएनौँ ।'-खत्रीले भने-'वर्षौँ पहिला भएका बालविवाहको दिर्घकालीन असर र प्रभावको बारेमा पनि सोच्नुपर्ने रहेछ ।'


सिर्जना पन्त