बालविवाह रोक्न पुरोहितलाई प्रशिक्षण

  ०७६ कात्तिक २२ गते

कर्णाली प्रदेशमा बढदो बालविवाहलाई न्युनीकरण गर्न कात्तिक २० गते प्रदेशका दशओटै जिल्लामा रहेका पुरोहितहरूलाई कानुनी प्रशिक्षण दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा प्रदेशका ४ सय ७९ जना पुरोहितलाई प्रशिक्षण दिइएको कार्यालयले जानकारी दिएको छ ।

पुरोहितहरूलाई कानुनी रूपमा सचेत गराएमा बालविवाह न्युनीकरण गर्न सहज हुने भएको यस प्रदेशका सबै जिल्लामा सो प्रशिक्षण दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका डिआइजी पुर्णचन्द्र जोशीले बताए ।

हिन्दु, बौद्ध, मुस्लिम र इसाई धर्मका पुरोहितहरूलाई एकै स्थानमा राखेर प्रशिक्षण दिइएको डिआइजी जोशीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा १ सय, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रूकुम पश्चिममा २३ जना पुरोहितहरूलाई प्रशिक्षण दिइएको थियो ।

आर्थिक वर्ष ०७५/७६ मा सुर्खेत र दैलेखमा सात-सात ओटा, सल्यानमा तीनओटा र जुम्लामा दुई ओटा गरी १९ ओटा बालविवाहका मुद्दा दायर भएको र १७ जोडीलाई अभिभावकको जिम्मा लगाइएको डिआइजी जोशीले बताए ।


दुर्गा थापा