बालविवाह रोकथाम अभियानमा प्रहरी र समुदाय सँगसँगै 

  ०७३ कात्तिक ८ गते

दसैँको कोजाग्रत पूणिर्माको अघिल्लो दिन असोज २८ गते दिउँसो करिव दुई बजेतिर दैलेखबाट नेपालगञ्ज जाने विवाहको गाडी रानीमत्ता प्रहरी चौकीमा पुग्यो । प्रहरी चेकपोष्टमा बसका चालकले गाडी रोके । एक जना प्रहरी जवान गाडी भित्र छिरे । सामान्य हेरफेर गरे अनि बेहुला-बेहुली नजिकै गएर सोधे कति कति वर्षको हुनुभयो ? बेहुलाले भने म २६ वर्षको भएँ । बेहुलीलाई पनि सोधियो अनि उनले पनि आफ्नो उमेर बताइन् २२ वर्ष। यसैबिचमा उनीहरूको नाम र ठेगाना पनि सोधपुछ भयो । बेहुलाको पढाइ स्नातक र बेहुलीको पढाइ कक्षा १२ उत्तीर्ण भन्ने बताए ।

प्रहरीले प्रश्न थपे जन्म मिति पुष्टी हुने कागज छ ? बेहुलाका बुबा र बेहुलीका दाजु पनि त्यही गाडीमा थिए । उनीहरूले भने जन्मदर्ता वा नागरिकता त थियो तर ल्याएका छैनौं । प्रहरी चौकी इञ्चार्ज असई ढगीराम आचार्य पनि गाडी भित्र पसे अनि उनले भने २० वर्षनाघिसकेको प्रमाण जनाउनुस्, बालविवाह पो हो कि ? जन्ती अल्मलिए, अभिभावकहरू आतिए । प्रहरीले समाधान आफै सुझायो-'हाम्रै सामु पेश गरिरहनुपर्दैन । तपाईहरूको घर नजिकैको प्रहरी इकाइलाई उमेर खुलेको कागजात देखाउनुस् । तपाईहरूलाई छोडीदिन्छौं ।' प्रहरी सल्लाह अनुसार बेहुलाका परिवारले जिल्ला प्रहरी कार्यालय बाँके र बेहुलीका आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा सक्कलै जन्मदर्ता प्रमाणपत्र देखाए । बेहुला बेहुली दुबैको उमेर २० वर्षपुगेकै रहेछ । रानीमत्ता चौकीलाई सञ्चार पुग्यो अनि विवाहको गाडी नेपालगञ्जतर्फलाग्यो ।

सायद जहाँतहींको प्रहरीले आफू नजिकबाट जाँदैछ भने विवाहको गाडी सामान्य चेकजाँच पनि नगरी सुईंसुइती जान दिन्छ । तर दैलेखमा बाटोमा पर्ने प्रहरी इकाई वा गस्ती प्रहरीले विवाहको गाडी देख्यो कि रोक्छ अनि सार्वजनिक यातायातका गाडी भन्दा बढी सोधपुछ गर्छ । यसको कारण हो 'बालविवाह रोकथाम अभियान ।' प्रहरीले गत महिना सञ्चालन गरेको प्रहरी मेरो साथी एक हप्ते अभियानमा सानैमा विवाह गर्नुपर्दा धेरै हिंसा भोग्नु परेको समस्या आम महिलाहरूले सुनाएपछि बाल विवाह रोकथामको अभियान चलाइएको प्रहरीले जनाएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्रले सञ्चालन गरेको एकीकृत परियोजनाले गरेको अध्ययनबाट बाल विवाहका कारण बालबालिकाको शिक्षा आर्जन र अरू वृत्ति विकासमा असर परेको पत्ता लागेपछि सो परियोजनाले बाल विवाह रोकथाम अभियानलाई प्रमुखता दिएको छ । महिला तथा बालबालिका कार्यालयको सामाजिक अभियान पनि बाल विवाह रोकथाममै केन्द्रित छ ।

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय र सामाजिक सेवा केन्द्रले ऐक्यबद्धतासहित सञ्चालन गरेको अभियानमा सामुदायिक स्तरमा पनि राम्रो सहयोग, समन्वय र सहकार्य बढेको बताइएको छ । समाजका अगुवा, बुद्धिजीवि, बाल क्लब पनि बालविवाह रोकथाम अभियानमा जुटेका छन् । दसैँको समयमा मात्र गाउँबाट सूचना आएकै आधारमा प्रहरी घरमै पुगेर ३५ भन्दा बढी बालविवाह रोकिएका छन् । ठाउँठाउँमा २० वर्षनपुगी हुन लागेका विवाह प्रहरीलाई थाहै नभइ सामुदायिक स्तरको पहलमै रोकिएका बाल क्लबका प्रतिनिधिहरू बताउँछन् । सानैमा विवाह गर्दा छिट्टै बच्चा जन्मने, सोच्ने बुझने भइसकेपछि अर्को विवाह गर्ने अनि असमझदारी बढेर सम्बन्ध विच्छेद गर्ने घटनामा बृद्धि आएकाले यस्तो अभियान सञ्चालन गरिएको हो । तथ्याङ्कहरूका अनुसार दैलेख देशभरमै सर्वाधिक बालविवाह गर्ने जिल्लामा तेश्रो स्थानमा छ । दैलेख जिल्ला अदालतमा गत वर्षमात्र १० ओटा भन्दा बढी बहुविवाहका र १ सयको हाराहारीमा सम्बन्ध विच्छेदका मुद्दा परेको अदालतले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार दैलेखमा ८४ हजार ४ सय २४ जनाले २० वर्षनपुग्दै विवाह गरेका छन् । यो सङ्ख्या जिल्लाको कुल जनसङ्ख्या २ लाख ६३ हजार ७ सय ७० मध्ये ३२ दशमलव २५ प्रतिशत हुन आउँछ ।

बालविवाहले ल्याउने दुष्परिणाम र कुल जनसङ्ख्याको अनुपातमा एक तिहाइ ओगटेको यो भयावह अवस्थाबाट मुक्ति पाउन अव विशेष अभियान सञ्चालन गर्नुपर्ने महिला तथा बालबालिका कार्यालय दैलेखले निष्कर्षनिकालेको छ । सामाजिक सेवा केन्द्रको बालबालिकासम्बन्धी कार्यक्रम 'एकीकृत परियोजना'ले पनि बालबालिकाको शिक्षा आर्जन, स्वास्थ्य तन्दुरूस्ती र अरू वृत्तिविकासको अवसर सिर्जना गर्न बालविवाह रोकथामका थुप्रै सचेतना गतिविधिहरू भएका छन् । सचेतनाको परिणाम स्वरुप समुदायबाटै २० वर्षनपुगी विवाह गर्न लागिएको अवस्थामा प्रहरीलाई खबर गर्ने प्रचलन बसेको छ । प्रहरीले पनि खबर पाउनासाथ प्रमाण बुझेर विवाह हुन नपाउँदै बालविवाह रोक्ने गरेको पाइएको छ । गतवर्षको तथ्याङ्क केलाउने हो भने प्रहरीमा आउने फौज्दारी र देवानी मुद्दा एक सयको हाराहारीमा छ । तर, घरेलु हिंसा, बहुविवाह र पारिवारिक असझदारीको निवेदन झण्डै ४ सय जति पुगेको छ । त्यसमा १८-२० वर्षउमेरमा एक-दुई ओटा बच्चाका आमाहरूको सङ्ख्या धेरै हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहको भनाइ छ ।

पिलाडीकी एक १६ वर्षीया बालिकाको मागी विवाह भयो । अहिले उनी २४ वर्षी भइन् । दुई छोरा-छोरी भइसके । तर, जागीरे पतिले अर्को विवाह गरेकोले उनी अहिले तनावमा छिन् । उमेर नपुगी विवाह गरेकै कारण आफूले सौता व्यहोर्नुपरेको र हिंसा खेप्नुपरेको उदाहरण दिएर उनी बालविवाह रोकथाममा लागेकी छिन् । सामाजिक सेवा केन्द्रको बालबालिकासम्बन्धी एकीकृत परियोजनाले बाल विवाह रोकथाम अभियानबारे अवधारणा मात्र के बनाएको थियो आफै पीडा भोगेका महिलाहरू स्वतस्फूर्त रूपमा अभियानमा अग्रसर भएका छन् । सानो सङ्केत मात्रै दिँदा पीडित महिलाहरूले यस्तो अग्रसरता लिएकाले बालविवाह रोकथाम अभियान सशक्त बनेको महिला विकास निरीक्षक मनसरा शाहीको अनुभूति छ । समुदायकै आवश्यकतामा विषय छनौट गरिएका कारण यो अभियान प्रभावकारी बनेको सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरासिंह थापाको भनाइ छ ।

मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारीसम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्षपुगिसकेको हुनुपर्ने बनाइएको छ । पहिले अभिभावको सहमतिमा १८ वर्षमा विवाह गर्न पाउने कानुनी व्यवस्था थियो । अब २० वर्षनपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी) लाई एक महिना कैद र एक हजार रुपियाँ जरिाना गर्न सक्ने कानुनी व्यवस्था छ । राज्यको उपस्थिति प्रत्यक्ष देखिने प्रहरीकै गतिविधिले हो । दैलेखका धेरै गाउँमा दसैँमा विवाह गर्ने चलन अनुसार कैयौं विवाहका तयारी भइरहेकै बेला बालविवाह रोक्न प्रभावकारी कदम चालिएको छ । प्रहरी र समुदायको सहकार्यता बढेको छ । अभियान सफल हुँदै आएको पनि छ । यसैको परिणामले अहिले चौतारी, चियापसल र चोकमा सर्वत्र चर्चा परिचर्चा, र छलफल पनि बालविवाह रोकथामकै विषयमा भइरहेको छ । बालविवाह रोकथामका लागि सबेको एकमत छ र उस्तै किसिमको सक्रियता पनि । 'फलाम तातेकै बेला पिट्नुपर्छ' भने झैँ बालविवाह रोकथामको माहोल बनेकै बेला यसलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्छ ।


अमर सुनार