बालविवाह न्युनीकरण अभियानमा ज्योतिषहरूको प्रतिबद्धता

  ०७६ माघ १४ गते

बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न जिल्लाका ज्योतिषहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले २० वर्ष माथिको मात्र चिना हेर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन ।

छत्रेश्वरी गाउँपालिका –१ गैरीगाउँका ज्योतिष खिमलाल अधिकारीले बालविवाह न्युनीकरणको अभियानमा आफूहरूको पूर्ण प्रतिबद्धता रहेको र प्रतिबद्धता उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही भोग्न तयार रहेको बताउनु भयो ।

आ–आफ्नो धार्मिक परम्परा अनुसार गरिने विवाहको शुभ मुहुर्त, साइत, लगन तथा चिना हेरी विवाहको दिन जुराउने सन्दर्भमा कुनै पनि बर बधुको उमेर २० वर्ष भन्दा कम उमेरमा नै लगन हेर्ने, साइत जुराउने जस्ता कार्य बालविवाहलाई प्रोत्साहन तथा सहयोग गरेको पाइएमा कारवाही गर्ने प्रहरीले जनाएको छ ।

यस्तै ज्योतिष विज्ञानले बताएको भनि ब्लयाकमेलिङ गर्ने र यदि यो उमेरमा विवाह गरेन भने साइत छैन, विवाह नै हुँदैन, शुभ हुँदैन, उत्तम हुदैन जस्ता भ्रम सिर्जना गरी बालविवाह गर्न बाध्य पारेमा तीन वर्ष कैद र ३० हजार जरिवाना गर्ने प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

कम उमेरको विवाहमा सुपारी बाडेर या अन्य कुनै माध्यमबाट निम्ता दिन हिडने व्यतिलाई पनि कारवाही गरिने उहाँले बताउनु भयो । जिल्लामा वालबिवाहकै कारणले आत्माहत्या लगायत बिभिन्न घटनाहरु भइ रहेको उहाँले बताउनुभयो ।

सबै मिलेर जिल्लामा बालविवाह नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘लगन हेर्ने, साईत जुराउने जस्ता कार्य बालबिबाहलाई प्रोत्सान तथा सहयोग गर्ने कार्य हुन । ज्योतिष बिज्ञानले बताएको भनि ब्याकमेलिङ गर्ने र यदि यो उमेरमा विवाह गरेन भने साईत छैन, बिहे नै हुँदैन, शुभ हुँदैन, उत्तम हुदैन जस्ता भ्रम सिर्जना गरि बालबिबाह गर्न बाध्य पार्नु हुँदैन ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह न्यूनीकरण अभियान संचालनको क्रममा जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका ज्योतिष, जैसी तथा पास्टरहरूलाई कार्यालयमा उपस्थित गराएर प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराएको डिएसपी खतिवडाले बताउनुभयो । जिल्लाका करिब ६९ जना जैशी, ज्योतिषहरुले कम उमेरको विवाहको चिना नहेर्ने भनेर प्रतिबद्धता जनाएको कालीमाटी गाउँपालिका काल्चेका जोतिष पुनाराम जैसीले बताउनु भयो ।
84583571_159550738795135_3986282550417948672_n (00000002) 84563512_318635292408689_6809143852889276416_n (00000002)


मिना बुढाथोकी