बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २९ गते

बालविवाह गरेको तथा गराएको आरोपमा प्रहरीले सल्यानबाट सातजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा १५ वर्षीय बेहुला र १४ वर्षीय बेहुली सहित उनीहरूका आमाबुवा र पण्डित रहेका छन् ।

विवाह भइरहेको जानकारी पाएपछि प्रहरीले असोज २६ गते कपुरकोट गाउँपालिका–५ जामुने बस्ने बेहुलाबेहुली र बेहुलाका ५३ वर्षीय बुवा, ५० वर्षीया आमा, बेहुलीका ५६ वर्षीय बुवा र ५२ वर्षीय आमालाई गिरफ्तार गरेको थियो ।

त्यस्तै विवाह गराउने पण्डित त्रिवेणी गाउँपालिका–टुनिबोट बस्ने ४८ वर्षीय हरिप्रसाद गौतमलाई पनि प्रहरीले मण्डपबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिए ।

पछिल्लो समय बालविवाहका घटना न्यूनीकरण गराउने प्रयासमा प्रहरी निरन्तर लागिरहेको इन्स्पेक्टर जोशीले बताए ।

बेहुला स्थानीय सरस्वती आधारभुत विद्यालय जामुनेमा कक्षा सातमा र बेहुली पनि सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत् रहेका थिए ।

बेहुलाका बुवाले भने आफूलाई बाल विवाह बारेको कानुनको बारेमा केही थाहा नभएका कारण छोराले भागी विवाह गरेर ल्याएपछि विवाह गरिदिएको बताए ।

आरोपित सबैलाई हाल जिल्ला प्रहरी कार्यालयस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी