बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७५ असार २७ गते

बाल विवाह गरेको आरोपमा प्रहरीले असार २६ गते एकजोडी सहित चारजनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा बालविवाह भएको खबर पाएपछि शारदा नपा–४ पिपलनेटाकी १८ वर्षीया युवती, १७ वर्षीय बालक र ६५ वर्षीया बालिकाकी आमालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

असार २६ गते भएको सो विवाह गराउने पुजारी ६६ वर्षीय अशोक गौतमलाई पनि गिरफ्तार गरेको  जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

गिरफ्तार गरिएका सबैजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको डिएसपी शाहीले जानकारी दिए ।

बालविवाह न्यूनीकरण गर्ने अभियान अन्तर्गत जिल्लामा अहिले बालविवाह भएको थाहा पाएपछि स्थानीय आफैँ सक्रिय भई विवाह भएको खबर प्रहरीलाई दिने गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न गराउन नहुने उल्लेख छ । उपदफा ३ मा भने यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।


मिना बुढाथोकी