बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ भाद्र २१ गते

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट गिरफ्तार गरेको छ ।

भदौ २ गतेबाट छोरी हराएको भन्दै भदौ १६ गते पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । हराएकी छोरी अचानक पोखरामा फेला परेपछि घटनाबारे थाहा पाएको पीडित बालिकाका अभिभावकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर रजौरेका अनुसार उक्त घटनाका आरोपितमाथि अनुसन्धान थालिएकाले अनुसन्धानपछि बालविवाह गर्ने र उक्त कार्यमा सहयोग गर्नेलाई कानुन बमोजिम कारबाहीका लागि मुद्दा चलाइनेछ ।

पीडित बालिकालाई आमाको जिम्मा लगाएको र आरोपित बराललाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको इन्स्पेक्टर रजौरेले बताए ।


दलबहादुर मजाकोटी