बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

  ०७४ जेठ १० गते

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय 'बेहुला' र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा लभ मिश्र फरार रहेकोमा उनीहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

आरोपित 'पुजारी' श्यामनारायण मिश्र र लभ मिश्रले बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकाका अभिभावकको अनुमतिबिना नै बालिकालाई ०७३ फागुन १७ गते भारतको पञ्जाबमा लगेर १४ वर्षीय बालकसँग विवाह गराइदिएको प्रहरीको भनाइ छ ।

छोरी हराएपछि पीडित बालिकाका बावुले छोरीको खोजी गरिदिन भनी प्रहरीमा ०७३ फागुन १८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । पीडित बालिकाका बावुको उजुरीका आधारमा प्रहरीले बालविवाहसम्बन्धी मुद्दा दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

त्यसैगरी १४ वर्षीया बालिकालाई बालविवाह गराइदिएको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-७ छिपागढकी पीडित बालिकाकी आमा ४५ वर्षीया रुमछली मल्लाह र पीडितका १८ वर्षीय दाजु सञ्जय कुमार मल्लाहलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितहरूले पीडितलाई उमेर नपुग्दै करकाप र डरधम्की देखाई ०७४ वैशाख १ गते भारतको महाराजगञ्ज थाना सुगौलीग्राम बस्ने २० वर्षीय मोहन साहनीसँग विवाह गरिदिएको भन्दै पीडितले वैशाख ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडितले आफूलाई पतिले मादक पदार्थ सेवन गरेर दुखः दिने गरेको, शारीरिक तथा मानसिक पीडा दिने गरेको भन्दै बाबु-आमा, दाजु र पतिविरूद्ध कारबाहीको माग गरी दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।


रीमा बि.सी.