बालविवाह गर्ने र गराउनेलाई १/१ हजार रुपियाँ जरिबाना

  ०७५ माघ ८ गते

बालविवाह गर्ने र गराउनेलाई जिल्ला अदालत सिन्धुलीले १/१ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ ।

दुधौली नगरपालिका–३ खुट्टेपानीका २१ वर्षीय सुमन भन्ने जितबहादुर कटुवाल र सोही नगरपालिकाको वडा नम्बर ६ डाँडाटोलकी १७ वर्षीया बालिकाबिचमा ०७४ फागुन ११ गते विवाह गराएको भन्दै जिल्ला अदालतमा परेको मुद्दाको फैसला गर्दै सिन्धुली जिल्ला अदालतले माघ ६ गते त्यस्तो निर्णय गरेको हो ।

उक्त जरिबाना बापतको रकम पीडित बालिकालाई उपलब्ध गराउने समेत अदालतले निर्णय गरेको छ । न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले उक्त निर्णय गरेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

बेहुला सुमन भन्ने जीतबहादुर कटुवाल र उनीहरूको विवाह गराउने बेहुलाका वाबु ५२ वर्षीय हरिश्चन्द्र कटुवाल, आमा ५० वर्षीय सिता कटुवाल भन्ने लिलामाया क्षेत्री, बेहुलीका ५० वर्षीय बावु, ४८ वर्षीया आमा, स्थानीय ४६ वर्षीय नमराज भन्ने नवराज कार्की र ५० वर्षीय नारायण अधिकारी दुनुवारलाई अदालतले जरिबानाको फैसला गरेको हो ।

अदालतले उमेर नपुगेकी बालिकाको विवाह गराएको ठहर गर्दै उक्त फैसला गरेको जनाएको छ । उनीहरू विरूद्ध ०७४ फागुन १६ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता गरिएको थियो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष भद्राकुमारी राजभण्डारीले उक्त मुद्दा दर्ता गराएकी थिइन् ।

सिन्धुलीमा बालविवाह विरूद्ध आएको यो पहिलो मुद्दा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बालविवाह गरेको आरोपमा प्रहरीले बेहुला सुमन भन्ने जितबहादुर कटुवाललाई ०७५ वैशाख ९ गते गिरफ्तार गरेको थियो ।

अन्य आरोपितलाई भने गिरफ्तार गरेको थिएन । गिरफ्तारीमा परेका कटुवाललगायत सात जनाले वैशाख १३ गते १५ हजार रुपियाँ धरौटी तिरेपछि जिल्ला अदालत सिन्धुलीले सबै आरोपितलाई साधारण तारेखमा छोडेको थियो । उक्त मुद्दा जिल्ला अदालतमा वैशाख १३ गते नै पेश गरेको थियो ।


विमला पाण्डे