बालविवाह गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ कात्तिक ३ गते

१६ वर्षीया बालिकासँग बालविवाह गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले पुर्चौडी नगरपालिका–८ का तेजबहादुर विष्टविरूद्ध कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई असोज २० गते बालविवाह गरी बलात्कार गरेको आरोपमा विष्टविरूद्ध परेको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाका परिवारको दबाबका कारण उजुरी दर्ता गरेपनि पीडित बालिकाले भने स्वास्थ्य परिक्षण गर्न समेत नमानिरहेको पाण्डेले बताए ।

घर परिवारका सदस्यहरूबाट नियमित कुटपिट तथा गाली बेइज्जत हुन थालेपछि इच्छा अनुसार मन मिल्ने केटासँग गएको दाबी गरिरहेकी बालिकाले कुनै हालतमा पनि स्वास्थ्य परीक्षण गर्न नमानिरहेको पाण्डेको भनाई छ ।

घटनाको बारेमा मुचुल्का गर्न गएको प्रहरीलाई समेत स्थानीयले मुचुल्का गर्न नदिएको प्रहरीको भनाई छ ।

डिएसपी पाण्डेले भने–‘घटनाको बारेमा असईको नेतृत्वमा टोली पठाएका थियौँ । तर, स्थानीयले मुचुल्का गर्न दिएका छैनन् । पछि इन्स्पेक्टरको नेतृत्वमा टोली पठाएका छौँ ।’ मुचुल्का बनाउनमा स्थानीय जनप्रतिनिधिहरूले समेत नमानिरहेको प्रहरीको भनाई छ ।

घटनाको बारेमा बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु अगावै पुर्चौडी नगरपालिकामा आफू परिवारबाट असुरक्षित भई केटासँग गएको भनी निवेदन दिएकी छन् ।

आरोपित विष्ट भने फरार रहेको प्रहरीले जनाएको छ । बालिका प्रहरीको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।


नरी बडु