बालविवाह कसुरमा ८ वर्ष ३ महिना कैदको फैसला

  ०७५ असार १९ गते

१४ वर्षीय बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै मरिण गाउँपालिका-चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई जिल्ला अदालतले असार १९ गते ८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले दमाईलाई बालविवाह गरेबापत ३ महिना कैद तथा १ हजार रुपियाँ जरिबाना र बलात्कार गरेकोमा ८ वर्षकैद फैसलाका साथै ५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दमाईकी जेठी पत्नी २३ वर्षीया शान्ती दर्जीले ०७४ फागुन २५ गते पतिविरूद्ध बहुविवाहको उजुरी दिएकी थिइन् ।

पीडित बालिकालाई दमाईले पत्नी बनाएर घरमा भित्र्याएको र शारीरिक सम्बन्ध समेत राखेको खुल्न आएपछि उनलाई बालविवाह र बलात्कारमा मुद्दा चलाइएको थियो ।

पीडित बालिकालाई दमाईले ०७४ फागुन १५ गते अर्को विवाह गरी घरमा भित्र्याएको र २ छोराछोरी सहित जेठी पत्नीलाई घरबाट निकाला गरेका थिए । दमाईलाई प्रहरीले ०७४ फागुन २४ गते गिरफ्तार गरेको थियो ।


विमला पाण्डे