बालविवाहलाई वैधानिकता दिँदै जनप्रतिनिधि !

  ०७६ साउन २५ गते

हुम्लाका ग्रामीण बस्तीहरूमा अझै बालविवाह हुने गरेको पाइएको छ । सानै उमेरमा प्रेमसम्बन्धमा बाँधिएका बालबालिकाहरूले विवाह गर्ने उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको हो ।

जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ स्थित वडा कार्यालयले बालविवाह रोक्नुको साटो दर्ता गरिदिएर बालविवाहलाई पनि वैधानिकता दिएको देखिएको छ । वडाध्यक्ष ट्यारे रोकायाले बालविवाह वडा कार्यालयमा दर्ता गरी वैधानिकता दिएका हुन् ।

सोही गाउँपालिका–८ बस्ने १५ वर्षीया बालिका र १८ वर्षीय युवकबीच ०७६ वैशाखमा परम्परागत् रूपमा मागी विवाह भएको थियो ।

सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरिदिएर वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयम्सेविका जुना ऐडीले बताइन् ।

विवाह भएकी बालिका कोट माध्यामिक विद्यालय रोडिकोटमा अध्ययनरत् रहेकोमा उनको भर्नाको आधारले ०६१ माघ १० गते जन्म भएको देखिन्छ । सो आधारमा उनी १४ वर्ष ७ महिनाकी मात्र पुगेकी छन् ।

त्यस्तै विवाह गर्ने युवकको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ता गर्नुका साथै नागरिकताको सिफारिस समेत वडा कार्यालयले गरिदिएको छ ।

दुर्गम जिल्ला हुम्लामा बालविवाह अन्त्य गर्न चुनौतीको विषय रहेको देखिन्छ । हुम्लामा धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिक दबाव आदिले बालविवाह हुने गरेको बाल अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी बताउँछन् ।

कन्याको विवाह महिनावारी हुनु अगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वास जिल्लाका केही स्थानमा कायमै हुँदा पनि कम उमेर विवाह हुने गरेको पाइन्छ ।

यस जिल्लामा नाता मिल्ने कुटुम्बको छोरा जन्मिएमा केटी पक्षले घाँटीमा पोते लगाएर विवाह पक्का गर्ने चलन कायम नै रहेको छ ।

गरिबीका कारण जिल्लामा अहिले पनि छोरीलाई चाँडै विवाह गरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्र्याउने क्रम कायमै छ । अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेर मै विवाह गर्न बाध्य हुने गरेका छन् ।

सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष जोशी धामीले अशिक्षाका कारण वडाअध्यक्ष रोकायाले विवाह गर्दा गरेको हुन सक्ने बताइन् ।

सो बारेमा इन्सेक जिल्ला प्रतिनिधिले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलसँग बुझ्दा पोखरेलले जिल्लाका जनप्रतिनिधिलाई कानुनी विषयका बारेमा क्षमता अभिवृदि तालिम आवश्यक रहेको बताउँदै सो घटनाका बारेमा वडाअध्यक्षलाई झिकाएर घटनाका बारेमा बुझ्ने जानकारी दिए ।


नन्द सिंह