बालविवाहका कारण सम्बन्ध बिच्छेदका मुद्दा बढे

  ०७६ फागुन २३ गते

चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका १ सय ४२ ओटा मुद्दा दर्ता भएका छन् ।

पर्सा जिल्ला अदालतका सूचना अधिकृत अक्षय कुमार दनुवारका अनुसार मुद्दा दर्ताको क्रम बढ्दो छ । आर्थिक वर्ष ०७४/०७५ मा १ सय १८ मुद्दा दर्ता भएका थिए । दर्ता भएका मुद्दा मध्य १ सय आठ ओटामा महिलाले सम्बन्ध बिच्छेदको माग गरेर मुद्दा दर्ता गरेका थिए भने १० ओटा मुद्दामा मात्र पुरुषले सम्बन्ध बिच्छेदको माग गरेका थिए । फौजदारी अपराध संहिता लागु भएपछि पुरुषहरूले पनि सम्बन्ध बिच्छेदको  माग राखेर गर्ने मुद्दाहरू बढेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा ९० जना पुरुषले सम्बन्ध बिच्छेदको माग गरेर अदालतमा उजुरी गरेका छन् भने यही अवधिमा १ सय २२ जना महिलाहरूले मुद्दा दर्ता गरेका छन् ।

सूचना अधिकृत दनुवारले पर्सा जिल्लामा सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्नेहरूमा धेरैजसो कम उमेरमा विवाह गरेका महिला तथा पुरुषहरू रहेको बताउनु भयो । उहाँले छोराछोरीको इच्छाविपरीत सानो उमेरमा विवाह बन्धनमा बाँध्ने गरिएको कारण हालका दिनमा अदालतमा सम्बन्ध बिच्छेदको लागि आउने गरेको बताउनु भयो ।

सानो उमेरमा विवाह गर्ने, रोजगारका लागि पुरूषहरू विदेश जाने विदेशमै अर्को बिहे भएपछि  घरमा महिलाहरूबाट पुरुषविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दिने गरेको उहाँको भनाइ छ ।

अपरिपक्व भएको बेला गरिने बिहे परिपक्व भएपछि मेल नखाने कारणले पनि सम्बन्ध विच्छेदका घटनाहरू बढिरहेको दनुवारले बताउनु भयो  ।

सूचना अधिकृत दनुवारले सम्पत्तिमाथि अधिकारका लागि पनि यस्ता घटनाहरू अदालतमा आउने गरेको बताउनु भयो । उहाँले विभिन्न सामाजिक सङ्गठनहरूले बालविवाहविरुद्ध अभियान सञ्चालन गरेपनि अदालतमा परेको सम्बन्ध विच्छेदका घटनाले त्यसको नियन्त्रण भएको नदेखिएको भन्दै यसमा अझ प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनु भयो । समाजमा बिद्यमान दाईजो प्रथाका कारण बालविवाह नियन्त्रण नभएको देखिएको र समाजमा छोरी पढेलेखे पछि पढेलेखेकै बर खोज्नु पर्ने मान्यता छ । यो मान्यताका कारण पढाईमा निकै खर्च भएको छ भन्दै दाइजोको रकम बढाउने प्रचलन रहेको छ । दाइजो लिनु ठिक होइन भन्ने ज्ञान नभएर होइन ज्ञान भएपनि स्वार्थ त्याग्न नसकेर बालविवाह रहिरहेको सामाजिक कार्यकर्ता कोपीला साहको भनाई छ । बालविाह कानूनी रुपमै दण्डीत भएपनि सामाजिक स्वीकारोक्तिका कारण यो नियन्त्रण हुन सकिरहेको छैन ।


केसी लामिछाने