बालविवाहका कारण जुम्लामा २७ प्रतिशत किशोरी आमा !

  ०७६ भदौ १८ गते

बालविवाहका कारण जुम्ला जिल्लामा किशोर उमेरमै आमा बन्नेको सङ्ख्या २७ प्रतिशत रहेको पाइएको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको तथ्याङ्कका अनुसार जुम्लामा २७ प्रतिशत किशोरी आमा हुने वा पहिलो बच्चा जन्माउन गर्भवती हुने गरेको पाइएको हो । यसरी किशोरी उमेरका आमा बन्नेको सङ्ख्या शहर भन्दा ग्रामीण क्षेत्रमा बढी रहेको छ ।

 

बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ भने किशोरी अवस्थामा नै बच्चा जन्माउँदा आमा र बच्चा दुवै जनालाई विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेको अस्पतालले जनजाएको छ ।

 

आर्थिक वर्ष २०७४/७५ अस्पतालमा सुत्केरी गराउन आएका ६ सय ७४ महिलामध्ये १ सय ७९ किशोरी रहेका थिए भने आर्थिक २०७५/०७६ मा सुत्केरीका लागि आएका ६ सय ७८ महिलामध्ये १ सय ४६ जना किशोरी रहेका छन् ।

 

बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको सङ्ख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यको समस्या समेत बढ्दो रहेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले बताए ।

 

‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ ।’–उनले भने–‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले उनीहरू घरेलु हिंसामासमेत पर्ने गरेका छन् ।’

 

किशोरी आमाको शारीरिक अपरिपक्वता हुनुका साथै मानसिक तथा सामाजिक रूपमा पनि अवस्था कमजोर हुने गरेको डाक्टर पुजन रोकायाले बताइन् ।

 

कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको डाक्टर रोकायाको बुझाइ छ ।

 

परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको डाक्टर रोकायाले बताइन् ।

 

बालविवाहको कारण अन्य पारिवारीक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता कारणले गर्दा यस्ता किशोरीमा मानसिक समस्या समेत देखिने गरेको रोकायाले बताइन् ।

 

सानै उमेरमा विवाह गर्ने क्रमको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाको भनाई छ ।

 

कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्ति विकासको ढोका बन्द हुने उनले बताइन् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको बुढाको तर्क छ ।

 

जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाह विरूद्धको अभियान सञ्चालन गरेको छ ।

 

बालविवाह रोक्न तथा छोराछोरी बीचको असमानता हटाउनका लागि गाउँपालिकाले अस्पतालमा छोरी जन्मे प्रोत्साहन भत्ता स्वरुप ३ हजार रुपियाँ दिने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।


मानदत्त रावल