बालमैत्री बसाइ व्यवस्थाले विद्यार्थीको उपस्थिति दर बढायो

  ०७३ पुस ७ गते

भोक लाग्दा खान दिने, जाडो लाग्दा जामा ।
संसारमा सबैभन्दा प्यारी मेरी आमा ।।
किताव, कापी, कलम छ कि छैन झोला ।
भोक लाग्दा स्कुलमा के पो खान्छ होला ।।
चिन्ता गर्ने सधैं हाम्रो देख्ने सधैं साना ।
संसारमा सबैभन्दा प्यारी मेरी आमा ।।

जिमाली गाविस–७ का चार वर्षीय बालक जगत जैसीलाइ बाल विकास केन्द्रमा सिकाइएका गीतमध्ये सबैभन्दा मन पर्ने गीत हो यो । उनी महेन्द्र बाल विकास केन्द्रमा नियमित जान्छन् । साढे नौ बज्ने बित्तिकै उनलाई बाल विकास केन्द्रमा जान हतारो भैसक्छ । सुरुमा आमाबुबाले जतिपटक पढ्न जाउ भने पनि मन नगर्ने जगत अहिले भने खुसी हुँदै आफैँ बाल विकास केन्द्र जान्छन् ।

महेन्द्र माध्यमिक विद्यालय जिमालीमा रहेको महेन्द्र बाल विकास केन्द्रकी बाल विकास सहजकर्ता कोपिला शाहीले भनिन्–“जगत मात्र होइन, बालमैत्री बसाइ व्यवस्थापन र हरेक गीत खेलकै माध्यमबाट सिक्न पाइने भएपछि बालबालिकाको उपस्थिति दर ५० प्रतिशतले वृद्धि भएको छ ।”

धुलाम्मे कक्षाकोठा, जबरजस्त कखरा सिक्ने र सिकाउने घोकन्ते शैली, त्यसमा पनि छुट्टै कक्षामा बसेर पढ्नुपर्ने बाध्यता । कुनै बेला महेन्द्र बाल विकास केन्द्र लगायत जिल्लाका ९० प्रतिशत बाल विकास केन्द्रको परिचय यस्तो हुने गथ्र्यो । त्यसकारण धेरै बाल विकास केन्द्रहरु बालबालिकाको आकर्षणको केन्द्र बन्न सकेका थिएनन् । यस्तो बेलामा जिल्लाका केही गाविसमा सुरु भएको बालमैत्री बसाइ व्यवस्थापन बालबालिकालाई बाल विकास केन्द्रमा आकर्षण गर्ने गतिलो माध्यम बन्न पुगेको छ ।

बाल विकास केन्द्रकी सहजकर्ता शाहीले थपिन्–“पहिले २० जना बालबालिकामा दैनिक मुस्किलले ८/९ जना आउँथे । अहिले त दैनिक नियमित आउने २२/२३ जना पुगिसके ।”

भुइँको चिसोले बालबालिकालाई नसताओस् भनेर भुइँमा पिफर्म र त्यसमाथि जुट कार्पेट राखिएको छ । कार्पेट माथि बस्नलाई विद्यार्थी सङ्ख्या अनुसार सबै बालबालिकालाई पुग्ने गरी कुशन छन् भने बीचमा बसेर पढ्नलाई गोला भुइँ टेबुल राखिएको छ । बाहिरको फोहरभित्र पस्न नदिन ढोकैमा जुत्ता राख्ने र्‍याक पनि छ । अनि भित्ताभरि नै बालबालिकालाई खेल्दै पढ्दै गर्न थरीथरीका सामग्री सहितको भित्ते लेखन । थरीथरीका महिनैभरि खेल्न पुग्ने शैक्षिक सामग्री । सरस्वती आधारभूत विद्यालय ढाकाडाम–२ मा रहेको बाल विकास केन्द्रकी बाल विकास सहजकर्ता प्रतीक्षा खड्काले भनिन्–“गणित कुना, सङ्गीत कुना, अभिनय कुना जस्ता छ कुना बनाएर सिकाइरहेकी छु । विभिन्न खेलको माध्यमबाट सिकाउँछु । उनीहरु मन लगाएर सिक्छन् र थाकेपछि मज्जाले सुत्छन् ।”

उनले भनिन्–“पहिले धुलोका कारणले एक दिन लगाएको कपडा अर्को दिन लगाउन नमिल्ने हुन्थ्यो । अहिले त सबै बालबालिका सधैं सफासुग्घर हुन्छन् ।” जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरीक्षक तथा बाल विकास केन्द्रका फोकल पर्सन विनोद अधिकारीले जिल्ला शिक्षा कार्यालयले जिल्लाभरका बाल विकास केन्द्रको बसाइ व्यवस्थापन सुधारका लागि पहल गरिरहेको बताए ।

“जिल्लाका ३ सय ४९ बाल विकास केन्द्रमध्ये ९० प्रतिशतभन्दा बढी बाल विकास केन्द्रको बसाइ व्यवस्थापन मिलेको छैन ।”–उनले भने–“हामीले विद्यालयलाई बालमैत्री बसाइ व्यवस्थापनका लागि पहल गर्न र स्रोत व्यवस्थापन गर्न विभिन्न छलफल तथा बैठकमा भन्दै आएका छौँ ।”

उनका अनुसार अहिले जिल्लाका नौ वटा बाल विकास केन्द्रको बसाइ व्यवस्थापनले बालबालिका, अभिभावक, शिक्षक तथा जिल्लाका अन्य बाल विकास केन्द्रहरुमा सकारात्मक प्रभाव पारेको छ ।

सेभ द चिल्ड्रेनले जिल्लाका दुर्गम गाविसहरु दार्माकोट,  भल्चौर,  जिमाली र ढाकाडाममा रहेका ३२ वटा बाल विकास केन्द्रलाई स्थानीय साझेदार संस्था दलित विकास समाजसँग मिलेर नमुनाको रुपमा विकास गर्ने योजना बनाएको छ । सेभ द चिल्ड्रेनकी जिल्ला संयोजक विमला सुवेदीले भनिन्– “बालबालिकालाई विद्यालय प्रवेशको पहिलो खुड्किलो बाल विकास केन्द्रमै विद्यालयप्रति वितृष्णा पैदा गराउने गतिविधि हुन दिनु हुन्न । सबै बालबालिकालाई विद्यालयमा लिएर आउने नीति हुनुपर्दछ ।”


रासस