बालबालिका पूर्ण खोपको पहुँचबाट वञ्चित

  ०७६ फागुन २० गते

जिल्लाका नौ ओटै स्थानीय तहका २१ प्रतिशत बढि बालबालिका पूर्ण खोपको पहुँचबाट र एक प्रतिशत बालकालिका सबै प्रकारका खोपबाट वञ्चित भएको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाले  आयोजना गरेको ‘पूर्ण खोप शुनिश्चितता र दिगोपनाको निम्ती हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्थानीय तहका जनप्रतिनिधि र  पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्लाभरीका ६४ प्रतिशत महिलाहरूले मात्रै सुरक्षित प्रसुती केन्द्रमा गएर बच्चा जन्माउने गरेको जन स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाका अनुसार जिल्लामा विसिजी खोप कभरेज आर्थिक वर्ष ०७५ / ०७६ मा ७८ प्रतिशत छ । जुन प्रतिशत आर्थिक वर्ष ०७३ / ०७४ को भन्दा १० प्रतिशतले कमी हो । यस्तै दादुरा रुवेलाको आर्थिक वर्ष ०७५ / ०७६ मा ७५ प्रतिशत कभरेज पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७३ /०७४ को तुलनामा १९ प्रतिशतले बढी हो । जिल्लामा नवजात शिशु मृत्युदर आर्थिक वर्ष ०७५ /०७६ मा चार प्रतिशत छ जुन आर्थिक वर्ष ०७३ / ०७४ को तुलनामा घटेको छ ।

विभिन्न कारणले बालबालिका अझै पनि पूर्ण खोपको पहुँचमा पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय,दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । पूर्ण खोपको दिगोपना तथा योजना तयारीको बारेमा जानकारी गराउँदै भट्टले जिल्लाभरीका बालबालिकालाई पूर्ण खोप सुनिश्चता गर्न सबैको सहकार्य हुनु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो–‘स्थानीय तह गठन हुँदा पनि अझै खोप कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । बालबालिकालाई खोपको सुनिश्चितताको लागि हातेमालो गरौँ । कोहि पनि बालबालिका खोपको पहुँचबाट वञ्चित हुनु हुँदैन् ।’

स्वास्थ्यकर्मी खगेन्द्र कार्कीले १२ ओटा रोगकाविरूद्वमा १५ महिना मुनिका बालबालिकालाई लगाउनु पर्ने खोपको बारेमा जानकारी  गराउँदै पहिलेको तुलनामा अहिले बाल मृत्युदर, शिशु मृत्यु दर, नवशिशु मृत्युदरमा कमी आएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘सुचाकाङ्क सुधार हुँदै गएको छ । तर, अझै खोपलाई प्रभावकारी बनाउन आवश्यक छ ।’

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णसिह धामीले बालबालिकाको अवस्थालाई मध्यनजर गरी बालबालिकालाई र नवशिशु बचाऊ अभियानका रूपमा हरेक स्थानीय तहले खोप कार्यक्रम प्रभावकारी बनाउन आवश्यक भएको बताउनु भयो ।

महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले पूर्ण खोप सुनिश्चितताको लागि नगरपालिका प्रतिबद्व रहेको बताउँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रभावकारी भुमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

 


नरेन्द्रसिह कार्की