बालबालिकालाई राम्रो बनाउन सके समाज र देशको भविष्य राम्रो बन्छः अधिकारकर्मी

  ०७६ साउन २० गते

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बालबालिकाका सवालहरू सम्बोधन भएमा मानव अधिकारको अवस्थामा सुधार आउनुका साथै समाज र देशको भविष्य पनि सुधारिने बताएका छन् ।

Photo20190805Kaski02

साउन १९ र २० गते पोखरामा आयोजित विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पाठकले भने-'बालबालिकाका सवाललाई मानव अधिकारको विषयमा निकै महत्वपूर्ण रूपमा हेर्ने गरिन्छ । बालबालिकालाई राम्रो बनाउन सके व्यक्ति, समाज र देशको भविष्य निश्चय नै राम्रो बन्छ ।'

गण्डकी प्रदेश विधायन समितिका सदस्य धनन्जय दवाडीले विद्यालयको कक्षा कोठामा गरिने व्यवहारले महत्वपूर्ण भूमिका खेल्ने हुँदा विद्यालयका कक्षा कोठा बाल अधिकारमैत्री बनाइनुपर्ने धारणा राखे ।

Photo20190805Kaski 01

गण्डकी प्रदेश विधायन समितिका सदस्य विष्णुप्रसाद लामिछानेले सडकमा रहेका र मजदुर बालबालिकाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।

लामिछानेले समाजमा छोरा सरह छोरी हिँड्न पाउने गरी सुरक्षाको अनुभूत राज्यले गराउनुपर्ने भनाई राखे ।

'जुन रूपले बालबालिकाका सवाल अगाडि आउनुपर्ने त्यसो हुन सकेन । अझै पनि बालबालिका सबैको सरोकार भन्ने विषयलाई महत्व दिइएन । अपनत्व लिइएन ।'-उनले भने ।

Photo20190508Kaski03

मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष नवदत्त ढुङ्गानाले विद्यालय भर्ना भएका बालबालिकाले विभिन्न समस्याका कारण विद्यालय छोड्नुपर्ने अवस्थालाई रोक्न आवश्यक पहल गर्नुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, गण्डकी प्रदेश संयोजक विना सिलवालले पछिल्लो ३० वर्षमा बालबालिकाको क्षेत्रमा धेरै परिर्वतन भएता पनि अझैपनि अवस्था सन्तोषजनक नरहेको भनाइ राखिन् । सिलवालले बाल मनोविज्ञानलाई बुझ्ने गरी शिक्षण शैली अपनाउनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घ, कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रमले बाल अधिकारको बारेमा ठोस मार्गचित्र बनाउँदै त्यसको प्रभावकारी कार्यन्वयनका लागी महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को समन्वयमा साउन १९ र २० गते पोखरामा सञ्चालित कार्यक्रममा प्रदेशमा बालबालिकाका क्षेत्रमा रहेका विद्यमान समस्या र अन्तर्राष्ट्रिय स्तरमा उठाउनु पर्ने मुद्दाका विषयमा छलफल तथा समीक्षा र समाधानका बारेमा छलफल हुने राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजङ्ग ध्वज कार्कीले जानकारी दिए ।


सुशन घिमिरे