बालबालिकामा भाइरलको प्रकोपः तीन जनाको मृत्यु, ५ सय बढी प्रभावित

  ०७५ भदौ १५ गते

पछिल्लो दुई सातादेखि जिल्लाका बालबालिकाहरूमा मौसमी भाइरलको सङ्क्रमण देखिएको छ । विशेष गरि यस्तो सङ्क्रमण देखिनेमा पाँच वर्ष मुनिका बालबालिकाहरू रहेका छन् ।

सङ्क्रमणमा परेका बालबालिकाहरूमा रूघाखोकी, जरो, छातिमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको  जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमले बताइन् । भाइरलका कारण तीन बालिबालिकाहरूको मृत्यु भएको पनि उनले बताइन् ।

मृत्यु हुने बालबालिकाहरू अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको गौतमले बताइन् । मृत्यु हुने बालबालिका कमलाखोच र मरिण क्षेत्रका बालबालिका रहेको र अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एम्बुलेन्स चालकहरूले जानकारी दिएको गौतमले जानकारी दिइन् ।

उनीहरूको एकीन पहिचान भने खुल्न सकेको छैन । यस्तै यो कस्तो खालको भाइरल हो भन्ने अझै एकीन हुन सकेको छैन । अस्पतालले बालबालिकाहरूमा भाइरल इन्फ्लुएञ्जाको आशङ्का गरेर परीक्षणका लागि इपिडेमियोलोजी महाशाखालाई अनुरोध गरेको थियो ।

बालबालिकाहरू अत्यधिक बिरामी पर्न थालेपछि महामारी सरूवा रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याव टेक्निसिएनको टीमले सङ्क्रमित बालबालिकाहरूको ल्याव परीक्षण गरेको थियो ।

टोलीले १० जना बालबालिकाहरूको ल्याव परीक्षण गर्दा कसैमा इन्फ्लुएञ्जाको सङ्क्रमण नदेखिए पनि घाँटीमा भाइरलको सङ्क्रमण देखिएको गौतमले बताइन् । यस्ता बालबालिकाहरूलाई अस्पतालमै भर्ना गराएर उपचार गराई रािखएको छ भने दुई बालबालिकाहरूलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

‘पछिल्लो दुई साता यता ५ सय ६२  बालबालिकाहरूमा स्वासप्रस्वाससम्बन्धी भाइरल सङ्क्रमण भएर अस्पतालमा भर्ना भएको अवस्था छ ।’–डा. गौतमले भनिन् । यस बाहेक समयमा उपचारका लागि अस्पताल नल्याइएका तीन बालबालिकाहरूको मृत्यु भएको पाइएको हो ।

वर्षायाम, अत्याधिक, गर्मी र चिसोको सुरूवात भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको सङ्क्रमण हुन थालेको उनको भनाई छ । यस्तो सङ्क्रमणबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरू पीडित छन् । १५ दिनदेखि यता मात्र जिल्ला अस्पतालमा दैनिक ३० देखि ६० जनासम्म रूघा लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने बिरामी बालबालिकाहरू उपचारका लागि आइरहेको गौतमले बताइन् ।

जिल्लामा अधिकांश बालबालिकाहरू भाइरलको सङ्क्रमणमा परेपछि अस्पतालका बेडहरू भरिएकाले भुर्इँमै राखेर भए पनि उपचार थालिएको छ । बालबालिका बाहेक अन्यलाई अस्पतालमा भर्ना लिइएको छैन । सङ्क्रमित बालबालिकाहरूलाई एन्टीबायोटिक औषधि चलाउन गाह्रो हुने भएपछि छातिमा भएको इन्फेक्सन बाफमार्फत हटाउने गरिएको छ ।

डाक्टर गौतमका अनुसार बालबालिकाहरूलाई भाइरलबाट जोगाउन खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रूमालले नाक, मुख छोप्ने, छोपाउने गर्न सुझाव छ । त्यस्तै केही खानेकुरा खानु अघि तथा खाइसकेपछि साबुन पानीले मिचिमिचि हात धुन, पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा खान, खुवाउन, ज्वरो आएका बालबालिकाहरूलाई नगुम्सिएको हावा ओहोरदोहोर हुने कोठामा आराम गराउन उनले सुझाव दिएकी छिन् ।

ज्वरो रूघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजान, शङ्कास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्न, अरूले प्रयोग गरेको रूमाल, कपडा प्रयोग नगर्न, नाक, मुख छोप्दा प्रयोग भएका रूमाल राम्ररी धोएर वा सफा गरेर मात्रै पुनः प्रयोग गर्न डाक्टर गौतमको आग्रह छ ।


बिमला पाण्डे