बालबालिकाको भविष्य सुनिश्चित गरौः राष्ट्रपति

  ०७७ भदौ २९ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ ।

'विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा ध्यान आकृष्ट  गराउन चाहन्छु ।'-राष्ट्रपतिद्वारा भदौ २९ गते जारी सन्देशमा भनिएको छ ।

राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा भदौ २९ गते एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले बाल अधिकार सुनिश्चित गर्न राष्ट्रिय कानुन तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको उल्लेख गर्नु भएको छ ।

यस वर्षको राष्ट्रिय बाल दिवस ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ भदौ २९ गते मनाइँदै छ ।

'गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू, सामुदायिक क्षेत्र, सञ्चारजगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरू भइरहेका छन् ।’-शुभकामना सन्देशमा भनिएको छ ।


अनलाइन डेस्क