बलात्कार पश्चात हत्या गरिएको घटनाको पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

  ०७५ साउन २३ गते

कञ्चनपुर भीमदत्त नपा-२ की निर्मला पन्तको बलात्कार पश्चात हत्या गरिएको घटनाका सम्बन्धमा पछिल्लो जानकारी लिनका लागि पीडित परिवार र सरोकारवालाहरूसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर ७ का संयोजक खडकराज जोशी नेतृत्वको टोलीले साउन २२ गते भेटघाट गर्नुका साथै आर्थिक सहयोग गरेको छ ।

Photo20180808Kanchanpur (2)

संयोजक जोशीले पीडित परिवारको निवासमा गएर निर्मलाकी आमा दुर्गादेवी पन्तलाई इन्सेकका पुर्व कर्मचारी दिप सिलवालकातर्फबाट २६ हजार रुपियाँ र इन्सेक प्रदेश कार्यालय, धनगढीको तर्फाट १० हजार रुपियाँ गरी जम्मा ३६ हजार रुपियाँ सहयोग रकम प्रदान गरेका छन् । पीडित परिवारले दुःखको घडीमा राहत स्वरूप सहयोग गरेको भन्दै सिलवाल र इन्सेकलाई धन्यवाद दिएको छ ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न तथा अपराधिलाई कडाभन्दा कडा कारबाही गर्नका लागि आवश्यक पहल गरीदिन इन्सेकसँग आग्रह गरेका थिए । स्थलगत अध्ययन टोलीले घटनाको बारेमा जानकारी लिनका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी दिल्लीराज विष्टसँग भेटघाट गरेको थियो ।

Photo20180808Kanchanpur (1)

स्थलगत अध्ययन टोलीमा इन्सेक प्रदेश संयोजक खडकराज जोशी, इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट र पत्रकार विपी अनमोलको सहभागिता रहेको थियो । अध्ययन टोलीले सरोकारवाला निकायहरू, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूसँग समेत घटनाका बारेमा जानकारी लिएको थियो ।


कोमलनिरञ्जन भाट